५ असोज २०८०, शुक्रबार

अनौठो भूतको जात्रा अर्थात् ‘जोगेनी जाँत’

लेखाजोखा न्यूज

२० भाद्र २०८०, बुधबार ९:११

डोटी । डोटी क्षेत्रमा देवी देवताको मुख्य पूजाको अवसरलाई जाँत अर्थात जात्रा भन्ने गरिन्छ।

समान्यतया जाँत तिथिमा हुन्छन्। तिथिसँगै अगाडि पछाडी पनि पूजा हुने गर्छ जसलाई डाडागन्त भन्ने गरिन्छ। कुनै पर्व विशेष ,केही दिन दिएर, पूजा अर्चना गर्ने जात्रा मनाउने रित परम्परालाई जाँत भनिन्छ।

देवताको पूजा लाग्ने दिनलाई हुलो भन्ने गरिन्छ। जाँत थरीथरिका हुन्छन।जाँतमा देउरा ल्याउँने पनि गरिन्छ। जाँतमा चलो बनाइन्छ। चलोमा वीर चरित्रको प्रदर्शन गरिएको हुन्छ। वीरताको चर्चा वीरगाथा वर्णन,वीरता सम्बन्धी आयुध प्रदर्शन गरिन्छन। छुट्टाछुट्टै भाती चाल चलन हुन्छन जाँतहरूमा।

विभिन्न स्थान मा लाग्ने मेला जात्रा जाँत मध्ये निकै पृथक र विशिष्ट महत्व बोकेको जाँत डडेल्धुरा जिल्ला भागेश्वर गाउँ पालिका वा नं २ रुपालमा हुने गर्छ।प्रत्येक तेस्रो वर्ष गौरा बिसर्जन गरेको भोलि पल्ट अदभूत किसिमको भूतको जात हुने गर्छ।

रुपाल संस्कृतिको छुट्टै पहिचान भएको क्षेत्र हो। तत्कालीन डोटी राज्यका तमाम गर्खामध्ये रुपालको विशिष्ट परिचय देखिन्छ।रुपाल भगवान भागेश्वर,असिग्राम, खिटकेश्वर महादेव अदि देवादी देवका स्वरुप बाट निवास भएको क्षेत्र मानिन्छ। विद्वत वर्गको बासस्थान रहेकाले पनि ब्र्म्हपुरी भनी पनि भन्ने गरिन्छ। प्रत्येक चाड पर्व जात्रा महोत्वव, जीवनोपयोगी संस्कार विधि पुर्वक गरिन्छन।पहाडी क्षेत्रको मनोरम उपत्यका बिचमा रुद्रावती प्रबाहित भइ रहेको अति नै सुन्दर बस्ती हो रुपाल।
    रुद्रा तदतुरेजाता शंकर पाद निस्रीता
    पूर्वे भागेश्वरो देव धुन्धु पर्वत सुब्रत।
रंगुन नदीको प्रसंगमा रंगुन नदीको उत्तरमा शतरुद्रा रहेको उल्लेख छ। शतरुद्रा मध्ये रुपालको मध्य भएर रुद्रावती शंकर भगवानको पाउ बाट निस्केर प्रवहित छ्न।जसको पूर्वतर्फ भागेश्वर भगवान बिराजमान हुन्छन्।
जेठी नेपाल कान्छी रुपाल पनि भन्ने गरिन्थ्यो ।गर्खाको चर्चा हुँदा “पश्यो भण्णु पशुपति हो जोराइल जंङ्गी हो ,पिलकोटी लठ्ठीको बल रुपाल रंङ्गी हो “भनेर सुन्दर रमणीय रुपालको चर्चा पाइन्छ। हरेक चाड पर्वहरु मा रुपालको मौलिक संस्कृति रहि आएको छ।रुपाली शैली,बान्की ,छाट ले भिन्नै पहिचान दिन्छ।मौलिक संस्कृति को विशिष्ट पहिचान बोकेको जोगेनी जाँतको छुट्टै महत्व रही आएको छ।

योगिनी बाट जोगिनी हुँदै जोगेनी भनिएको हुनु पर्छ। शास्त्र ,पुराणहरूमा चौसट्ठी योगिनीको वर्णन पाइन्छ। जाँतमा पनि चौसट्ठी माता भनेर चौसट्ठी योगिनीलाई नै जोगेनी भनिएको हुनु पर्छ। स्कन्दपुराणमा भागेश्वरको चर्चा हुँदा पुजन्ते सिद्धयोगिन भनेर योगिनीको उल्लेख गरिएको पाइन्छ ।
विभिन्न पूजा पाठ मा नवग्रह मण्डल संगै चौसट्ठी योगिनीको मण्डल बनाइ पूजा गरिन्छ। यज्ञ यज्ञादि अनुष्ठानमा चौसट्ठी योगिनीको विशेष पूजा प्राय पृथक बेदिमा चक्र बनाएर गरिन्छ। चौसट्ठी योगिनीलाई विभिन्न किसिमले उल्लेख गरेको पाइन्छ । यज्ञ ,यज्ञादीमा चौसट्ठी योगिनीको छुट्टै वेदी बनाएर विशेष पुजा गरिन्छ। साधारण पुजामा प्राय षोडश मातृका मण्डमा चौसट्ठी योगिनी आवाहन तथा पुजा गरिन्छ।

चौसट्ठी योगिनीलाई यसरी नाम दिइएको पाइन्छ।१) दिब्ययोगा २) महायोगा ३) सिद्धयोगा ४) महेश्वरी ५) पिशाचिनी ६)डाकिनी ७) कालरात्री ८) निशाचर ९) कंकाल १०) रौद्रबेताल ११) हुकार १२)उर्ध्वकेश १३) बिरुपाक्ष १४) शुष्काङ्ग१५) नरभोजी १६) फटका १७) वीरभद्रा १८) धुम्राक्ष  १९) कलहप्रीया २०) रक्ताक्षा २१) राक्षस २२ ) धोरा २३) विश्वरुपा २४ ) भयंकर २५) कामाक्ष २६) उग्रचामुण्ड  २७) भिषणा २८)त्रिपुरन्तकाय २९) वीरकौमारी ३०) चण्डी ३१) बाराही ३२) मुण्डधारणी ३३) भैरवी३४)हस्तिनी ३५) क्रोधदुर्मुखी ३६) पेतबाहिनी ३७) खट्वाङ्गदीर्घलम्बोष्ठी ३८) मालती ३९) मन्त्रयोगेनी ४०) अस्थिनी ४१) चकृणी  ४२) ग्राहा ४३) भुवनेश्वरी ४४) कण्टकी ४५) कारकी  ४६) शुभ्रा ४७) क्रीयाय ४८) दुती ४९) कराली ५०) शंखनी ५१) पद्मिनी ५२) क्षीरा ५३) असन्धा ५४)प्रहारिणी ५५) लक्ष्मी ५६)कामुकी५७)लोला ५८) काकदृष्टी ५९) अधोमुखी ६०) धूर्जटी६१)  मालिनी ६२) धोरा ६३) कपाली ६४) विषभोजनी
चौसट्ठी योगिनीको आवाहन गरि ॐ चतु षष्टियोगिनीभ्यो नम: मन्त्र द्वारा गन्धादी उपचारका साथ पुजा गरिन्छ।
अनेकभावसंयुक्ता संसारार्णवतारिणी  ।
यज्ञे कुर्वन्तु निर्विध्नं श्रेयो यच्छन्तु मातर: ।।

भनेर प्रार्थना गरिन्छ। चौसट्ठी योगिनीको विभिन्न यज्ञ यज्ञादी मा पूजा गरिन्छ। रुपालमा अदभूत रुपमा पूजा गरिने र दिन भर चौलोमा भोस्सी खेली जात्रा मनाइने योगिनीको संख्या भने तीन सय चौसट्ठी रहेको छ।चौसट्ठी माता भली खुसी हुन्नी भन्ने भनाइबाट चौसट्ठी योगिनीको प्रसंग आउँछ। जोगेनी टुपुरामा रहेका ढुङ्गाको संख्या पनि तीन सय चौसट्ठी छ। निकै भिन्न प्रकारको पूजा विधान छ। प्रत्येक तेस्रो वर्ष बिरुडा पञ्चमीका दिन कर्नैको धामीबाट हुने पञ्जनीमा शनिबार र मंगलवार पर्ने गरी दिन तोकिन्छ। रुपाल गाउँको प्रत्येक घरबाट पूजाका लागि नाली डोरी उठाइन्छ। सुनी जात का मानिसबाट पूजा लगाइन्छ। जात्रा लाग्ने अघिल्लो दिन गौरा बिसर्जन गरिन्छ। गौरा ल्याइने प्रत्येक खलामा चौलो खेलिन्छ। चौलो खेलिनुलाई चलो हाण्णु भनिन्छ। जोगेनी जात्राको सम्पुर्ण ब्यवस्थापन पुजाआजा दलित समुदायबाट हुन्छ। अन्य सबै वर्ग समुदायको सहभागीता हुन्छ।

जोगेनी जाँतको इतिहास 
जोगेनीजाँत  नाागी मल्ल राजाका पालामा सुरु भएको भनाइ छ।  रुपालको माहाकाली नदीनजिकै जाख भन्ने गाउँमा ‘सुनी’ जातिको बसोबास थियो। उनीहरू महाकाली नदीमा माछा मार्ने गर्दथे। एक दिन त्यस गाउँका काका भतिज नाता पर्ने दुईजना माछा मार्न जाल लगेर महाकाली गएछन्। त्यसदिन जालभित्र मान्छेकै अनुहारको माछा पर्छ। त्यो जालसहितको माछालाई  घिसार्दै तान्दै घरमा लगे। घर पुगेपछि त्यस माछालाई के गर्ने भनेर गाउँका सबैलाई बोलाइ कुरा गर्न थाले। कोही गाँउले यसलाई काटेर खाऊँ भन्न थाले भने कोही गाँउले यसलाई अजयमेरु दरबार लैजाऔ भन्न थालेछन्।

त्यो बेला अजयमेरुमा नागी मल्लको शासन थियो। गाउँमा कुनै नयाँ घटना वा नयाँ बस्तु भेटिएमा दरबारमा लैजानुपर्ने चलन थियो। त्यसैले सबै गाँउले ती माछालाई जालसहित अजयमेरु दरबार लैजाने निर्णय गरे।

राति नै लैजानुपर्ने भएकाले गाँउलेहरू सबै मिली त्यो जालसहित नै बोकेर हिँड्न थाले। जाँदै गर्दा एउटा जालबाट निक्लेर भाग्छ। रात भरि हिँड्दा हिँड्दै बयलबाट भन्ने ठाउँमा पुग्दा त्यहाँ पनि जालबाट एउटा माछा निक्लेर भाग्छ।

त्यहाँबाट जाँदै गर्दा एउटा डाँडामा पुगेपछि थकान मेट्न एकछिन् बस्न थाले र जाल पनि छेउमै राखे। केही छिनपछि उज्यालो भयो। तिनीहरू हिँडौ भनेर जाल राखेको तिर गए तर त्यहाँ त जालभित्र ढुङ्गा थिए। त्यो देखेर र सबै जना आत्तिएछन् त्यसै बेला आकाश गर्जिएछ र पानी परेछ। ती सुनीहरू डराउँछन्। यो के भयो? कसरी भयो? भनेर र सबै घर भाग्न थालेछन्।

यता पूरै रुपालमा अनर्थ र अशान्ति भएछ। कोही काम्न त कोही पागल भए रे। यस्तो अनर्थ देखेर गाउँका सबै मिली धामीझाँक्री बोलाएर पञ्चनी गरेछन्। पञ्चनीमा आएका सुनीहरू त्यो घटना बताएछन्। तर पनि कसैले पनि शान्त गर्न सकेनन्।

पछि त्यहीँ रुपाल कोटेउडाको कर्लै देबताले शान्त पार्यो।  भनिन्छ, कर्लै देवतामा जोतिषि ज्ञान पनि भएकाले सान्त पार्न सकेका हुन्। कर्लै देवताले ती ढुंगामा ‘जोगेनी माता’ र वीर (भूत) भएकाले तिनीहरूको राम्रो योगले पूजा गरेपछि शान्त हुने र यो पूजा प्रत्येक तीन वर्षमा गर्नुपर्ने हुन्छ। पूजामा दुई खुट्टे र चार खुट्टेको बली दिइन्छ।

त्यो बेला कर्लै देवताले ‘जोगेनी माता’ र वीरहरूलाई शान्त पार्नको लागि भएको पञ्चमीमा जोगेनी माताले मानिसको रुपमा आइ यसरी पूजा खाने भनेकाले त्यहाँ पूजाआजाका साथै बलि चढाइन्छ।स्थानीय देवताका धामीहरु पनि पञ्जनी मा बस्दछन।भूमिको मालिक भएकाले कैलपालको भुमिका निकै महत्व पुर्ण रहेको हुन्छ।समैजी देवताले पनि महत्वपुर्ण भुमिका निभाएको हुन्छ।बाटोमा छुट्टिएका हरुको अघिल्लो साझ जोगेनी पातलमा पूजा हुन्छ।

रुपाल गाउँका सुनी थरका एक जना महाकाली नदीमा माछा मार्न गएका थिए। महाकालीमा चौसट्ठी योगिनी पौडी रहेका थिए। योगिनीहरुलाई पुर्व जन्मको श्राप थियो कलि युगमा मनुस्यले छुने बितिक्कै पत्थर भएर बस्ने।त्यही श्राप मोचन का लागि मानव आउन र स्पर्श गरून् भनी नदीमा माछा रुपमा पौडी रहेका थिए।संयोग त्यस्तै पर्‍यो ।

सुनीले नदीमा जाल छम्काए जालमा योगिनी समातिइन। सुनीलाई योगिनीले आफ्नो परिचय दिए। सुनीलाई हामी तिम्रो कुनै काम आउन सक्दछौ । एक पटक प्रयोग गर्ने गर्न सक्छौ।सुनीले अजयमेरु कोटको राजा निकै शक्तिशाली छ त्यसका विरुद्ध प्रयोग गर्नु पर्‍यो भनी योगिनी सहितको जाल बोकेर हिडे।

बोक्ने समय योगिनी पत्थर रुप भई सकेका थिए। एउटा पत्थर जोगेनी पातलमा खस्यो। अजयमेरुकोट पुर्‍याउने सुरसहित हिडेका सुनी रुपाल गाउँको माथि उच्चो डाडाना पुग्दा उज्यालो भएछ। त्यही डाडामा बोकेर लगेका योगिनी छोडेर घर फर्किए। नौतडीका जोशीको हाल्दो(बेसार) रोप्ने जमिन थियो बेसार कै बारीमा योगिनी छोडिएका थिए।बेसार गोड्मेल गर्न एक बामनी(जोशी पत्नी)त्यहाँ पुगिन। योगिनी भूत रुपमा थिए। भूत योगिनीले मानिस आएको चाल पाए ती बामनी लाई खाइ दिए। बामनी त्यही मृत अवस्थामा थिइन। राती अबेरसम्म घर नआएको मा घरका मानिस चिन्तित भए खोजीमा निस्किए हल्दी गडामा मृत अवस्था भेटे।मरेको कारण पत्ता लगाउन लागे।
कोटेउडामा सार्किको घरमा एक जना केटा मानिस थियो।उक्त केटालाई कर्नै भनी चिन्दथे। कर्नै नाउँ गरेको केटा एक दिन आफ्ना बुबा संग रुद्रावती तर्दा उसकाे बुबा नदीमा बगेछन । उनी निकै ठूला ज्योतिषी थिए। तन्त्र साधक पनि थिए। बुबा नदी तर्दा बगेपछि ज्योतिषीको छोरो एक्लै निन्याउरो अनुहार लगाइ रुन लागे। त्यति बेला त्यहीँ बाटो गरी कोटेउडाका एक जना सार्की आएछन। एक्लै रोइरहेको केटोलाई आफुसँगै लगे तिनै ज्योतिषी पुत्र कर्नै थिए। उनले तन्त्र साधना जानेका थिए। हल्दिगडामा भएको घटना कर्नैले पनि सुने। बगौली तन्त्र साधक समेत रहेका कर्नै ले भूत योगिनी बाट घटना घटेको र अझै यस्ता घटना घट्दै जाने बताए। नभन्दै विभिन्न घटना अप्रत्याशित रुपमा घट्दै गए। बस्तु भाउ मरे,मानिस माथी नै आक्रमण भए पछि रुपाली सबै कर्नै संग समस्या समाधानको उपाय खोज्नका लागि छ्लफल गरे। कर्नै ले उपाय निकाले।
रुपालमा बिकराल समस्या आयो।समस्या समाधानका लागि कर्नैले उपाय खोजे स्थानीय देवताका धामीहरु बसाए।जाख घर भएका सुनी पनि बोलाए।सुनीले योगिनी जालमा छोपेपछि भएको संवाद सुनाए।जालमा समातिए पछि मैले तिनका बारेमा सोधे को हौ,कसरी मेरो जालमा फस्यौ भन्दा ती मध्ये बाट उमेरले छिप्पिएकी गेरु बस्त्र धारण गरेकि आइमाई जस्ती देझिने अगाडि आएर भन्छिन। म चौसट्ठी योगिनी मध्ये एक हु। यी तीन सय त्रिसट्टी मेरा छोरा हुन्। यतै खेल्छौ,मसानमा रमाउछौ,मुर्दा बोकेको देख्दा अति खुशी हुन्छौ। जिवित मानिससँग सामान्यतया बैर भाव छैन। हाम्रो बाटो छेके हामीलाई जिस्क्याए मेरा छोराहरु जाइ लागि हाल्छन्। सुनीको कुरा सुनेर कर्नैलाइ थप बल पुग्यो। समाधान का उपाय निकाल्न सजियो भयो।

स्थानीय देवता कैलपाल, लाटाराय,समैजीका धामीहरुले पनि कर्नै लाई सघाए। देवताको बलले  योगिनी सहितका भूतहरुलाई नियन्त्रणमा ल्याए। रुपाल गाउ किन आतंकित गरेको के गरेर यो समस्या को समाधान हुन्छ भनी योगिनीलाई सोधियो।प्रत्येक्ष तेस्रो बर्ष गौरा बिसर्जन गरेको भोलि पल्ट पुजा लगाउनु पर्ला।दुई खुट्टा भएको भएको प्राणीकोबलि दिनु पर्ला,चार खुट्टा भएको जीव पनि तीन सय चौसट्ठी पातला मा जौ का एक पल्टे रोटी त्यसैमा मासुको टुक्रा राखेर हामीलाई ल्याएर आउने सुनीले पुजा लगाउने छ्न। दुई खुट्टा भएको जीव भनी डराउनु भएन कुखुराले पनि मान्ने छु।रुपालमा हरेक गौरा हुने ठाउँबाट चौलो उठाउनु पर्ला ।सबै रुपाली अनिवार्य समावेश हुनुपर्ने छ।
जोगेनीले तोकेका सर्त पूरा गराउने कर्नैले जिम्मा लिए। जोगिनी शान्ति पुर्वक रहने प्रण गरिन। हल्दोगडामा योगिनी चक्रजस्तै गोलो घुम्न मिल्ने ठाउँ छ। त्यसलाई मण्डल भनेर भन्ने गरिन्छ। सोही मण्डलमा बामनीमाताको पनि पूजा हुन्छ। प्रत्येक घरबाट निगालाको लठ्ठीमा नेजा धा बाधेर ल्याउनु पर्ने। नाङ्गो खुकुरी तरवार,दाइन दमाउ,सिट्टी खाकर सहित चौलो खेल्नु पर्ने प्रचलन छ।एक जनाले चौलोमा जोगेनीको गाथा भन्नू पर्ने अरुले भोर भोस्सी भनी साथ दिएर गोलोमा छडके छडके घुम्नु पर्ने हुन्छ। ‘चौलो’को रौनकता

जोगेनीजातको दिन बिहानै सबै गाउँलेहरू खाना खाएर आ–आफ्नो देउथलिमा चौलो खेल्छन्। मूल चौलो कोटेउडाको भएकाले सबैभन्दा पहिले अगाडि बढ्छ र पड चौलोसंग मिसिन्छन्। पड र कोटेउडाको चौलो, पड चौलोको देवथली गोल्देउखलामा केहिबेर चौलो खेल्छन्। तला रुपालमा बाह्र गाउँ जोरा ठकुराठी सहितको चौलो लाटादेउका खलामा हुन्छ। समैजी,कैलपाल बिणा बसि रक्षार्थ काम गरेका हुन्छ्न।रन्चुलाको चौलो रुइनपटा मिलाइन्छ।रुइनपटामा तल्ला रुपालीको एकै चौलो हुन्छ।नौतड्या हार्‍या भनी खेलबाट बाहिर रहेकालाई जिस्क्याइन्छ,हारेन हार्‍या भनी खेलमा सामेल हुन्छन। कुनै बेला तल्ला रुपाली हार्‍या, कुनै बेला बिस्तड्या हार्‍या भनिन्छ भने अधिकांश नौतड्या हार्‍या बढी भनिन्छ।

त्यसपछि चौलो खेल्दा खेल्दै गन्तव्य स्थल मा पुग्छ। सबैभन्दा पहिले डमरु बजाइ सार्की, तिरुवा र सुनीहरू कुण्डमा पस्छन्। त्यसपछि कुण्डमा चौलो पस्छ। ५–५ फन्का घुमेपछि त्यो चौलो (पडंकोटेउडा) नौतडीको चौलोलाई पर्छ्याउन जान्छ। पर्छ्याएपछि फेरि चौलो कुण्डमै प्रवेश गर्छ र चौलो खेल्छ। केही समय चौलो खेलेपछि त्यो चौलो (पडं कोटेउडा नौतडी) बिस्तडीको चौलो पुर्‍याउन जान्छ।

चारवटै चौलो मिसिएपछि कुण्डमा चौलो खेल्छन्। कतिबेला आधा चौलो बाहिर गएर खेल्छ भने कतिबेला पुरै चौलो बाहिर जान्छ। खेल्दा खेल्दै तल्ली रुपालको चौलो आइपुगेको खबर सुनेपछि त्यो चौलो(पड कोटेउडा नौतडी (बिस्तडी) पर्छ्याउन जान्छ। तल्ली रुपालको चौलो र पर्छ्याउन गएको चौलोको मिसिने ठाउँ भिरालो भएकाले धेरै मानिसहरू चिप्लिन्छन् पनि।

पाँचवटै चौलो मिसिएपछि कुण्डमा खुट्टा राख्नसम्म ठाउँ हुँदैन्। त्यसमा पनि अधिकांश चौलो खेल्नेहरूसंग तरबार, खुकुरी, सिस्नुको हाङ्गा, काँडा भएको लौरि र नेजाध्वजा हुन्छन्। कुण्डमा खेलिरहेको चौलोको आबाज,सिट्टि बजाएको आबाज र दमाहा (दाइन)को आवाजले त्यहाँको वातावरण मनमोहक हुन्छ।

हात हतियारसहित चौलो खेल्ने भएकाले चोटपटक पनि लाग्ने गर्दछ। चौलो खेल्दाखेल्दै लागेको चोटपटकलाई जोगेनी माताको आशीर्वाद हो भनी त्यहीँको माटो लगाउँछन।
खेल्ने क्रममा कर्लै देवताको धामीलाई तिरुवाहरूले काँधमा राखीभित्र बाहिर घुमाउँछन्। घुमाउने बेलामा धामीले बाख्रालाई मुखले च्यापेको हुन्छ। त्यसपछि पूजा विधि सुरु हुन्छ भने चौलो बाहिर जान्छ। उता सार्की र तिरुवाका महिलाहरू एकपल्टे जौको रोटी पकाउँछन्।

पूजाआजा

कुण्ड खाली भएपछि मसानको माटोले रेखा हालिन्छ र सालका पातला बिछ्याएर चामल अनि कालो मसि छरिन्छ। त्यसपछि कुखुराको टाउको काटेर उडाइन्छ भने बाख्राको बली कुण्डकोबीचमा तीन सय चौसठ्ठी ढुङ्गामा (तीन सय चौसठ्ठी वीरहरूको माथि) राखेर दिइन्छ।

र बाख्राको सबै खुन (रगत) तीन सय चौसठ्ठी ढुङ्गामा (तीन सय चौसठ्ठी वीरहरूको माथि) छरिन्छ। त्यसपछि एकपल्टे रोटि ल्याएर त्यहाँ बिछाइएका पातलामा एक एक गरि राखिन्छ। भित्र पूजा चल्दै गर्दा बाहिर गएको चौलोभित्र आउन धेरै प्रयास गर्छ तर सुनी जातीका मान्छेहरू आउन दिँदैनन्। सुनीहरू चौलोभित्र न आओस् भनि सिस्नु, लौरि, तरवार, खुकुरी र घङारुको हाँगाले प्रतिकार गर्छन्।

बली दिइएको बाख्रालाई काटेर कलेजो र मासुका तीन सय चौसठ्ठी भाग बनाएर कुण्ड भित्रका तीन सय चौसठ्ठी ढुङ्गालाई (तीन सय चौसठ्ठी बिरहरूलाई) दिइन्छ। अनि पूजाविधि सकिन्छ र कुण्डमा भएका रोटी उठाउँछन्। त्यसै बेला बाहिर गएको चौलो कुण्डमा पस्छ र दिन भरि चौलो खेलिरन्छन्। बिहानदेखि साझसम्म  निरन्तर खेलिरहेका चौलोले दिनभर त्यहाँ को वातावरण गुञ्जयमान बनाइरहेको हुछ। निरन्तर नरोकिने चौलोमा कतिबेला खेलपनि हाल्ने गरिन्छ।

१)थाइ थाइ पालुरी घाँस वाइथाइ
कारी कुरि आसि क्याइ उद्याउछै
तम भिना तति क्याइ उदास
हेर शाली मेरि बासुली टुटि
शाली मैलाइ बासुलीको सोच
मेरा दाइलाइ निगालाको सीप

२)मुसुरी को दुण बुण्या तिउन ।।
  लागि गयो लुण थुण्या हिउन।।
कारीकुरी आसी क्या… उदयाउ छेउ..।।
आलुरी पालुरी घाँस वाइ थाई ।।
साली भीना भेट भईछ वाइ थाई ।।
साली भिना स्वा.. दुःखा भईछ।।
तम साली तती क्या दुबली छौँ?
तम भिना तती क्या निसुरा छौँ?
म त साली बाँसुरीको सोंच।।
हिट भिना मेरा माइत जाऊ ।।
हिट साली मेरा घर जानाऊ।।
मेरा माइत बसुर्या निकालो छ।।
मेरा दादी बाँसुरीको सीप।।
व ज्वानौ…
भोर भस्सी…
च्याबास् च्याबास्…

३)कुनै एकजना- ओ ज्वानौ
अरु सबै- भोर भस्सी
           – क्याई हेरी रैछौ
           – भोर भस्सी
           – खेल्दिय बिरौ
          – भोर भस्सी
          – तेसरा बर्ष
         – भोर भस्सी
          – जोगेनी जाँत
सबै जना- चबास चबास चबास…………

यस्तै शब्दमा चैत खेल चलिरहँदा बीचैमा कुनै एक ओज्वानौ भोर भोस्सी भनी उफ्रन्छ सबै गोलो घेरामा भोर भोस्सी भन्दै। उफ्रीन्छन।
दिनभरि खेल्दाखे यल्दैस जात्राको रमझममा यताउता घुम्न अतिनै मनमोहक लाग्छ। दिनमा पुरुषहरूको चौलो हुन्छ भने महिला देउडा खेल्छन्। यो जात्रा विशेष गरि भाद्र महिनामा हुन्छ। दिनभर रमाइलो गरेर जात्रा सम्पन्न हुन्छ। अँध्यारो भएपछि वीरहरू चौलो खेल्ने भएकाले सबैजना आ–आफ्नो घर फर्कन्छन्।

अदभूत किसिमको जात्रा हुन्छ रुपालमा प्रत्येक तेस्रो बर्ष जात नभएमा गाउमा अनिस्ट हुन्छ भन्ने मान्यता छ।चौसट्ठी माता भल खुसी हुन्नी बरदान दिन्नी भनेर भोस्सी खेलिन्छ। चौलो सुरु भए संगै घरका झ्याल ढोका बन्द गरिन्छ्न। हरेक रुपाली अनिवार्य जात्रामा सामेल हुन्छन। संस्कृति एक पुस्ताबाट अर्को पुस्ता मा हस्तान्तरण हुन्छ भनिन्छ। पुस्तौ पुस्तादेखि निरतर हस्तान्तरित संस्कृति हो जोगेनी जात। पहिलो पटक हेर्नेका लागि नौलो भए पनि रुपालीका लागि अनिवार्य र उत्सव पनि हो ।दिउसोको मेला भएका ले भेटघाटको अवसर पनि हो।

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend