काठमाडाैं। लोकतान्त्रिक गणतन्त्र स्थापना भएको धेरै भएको छैन्।
लोकतन्त्रको अभ्यासमा दोस्रो आवधिक निर्वाचन मात्र भएको छ। संविधानले परिकल्पना गरेका राज्यका अवयबहरुले पूर्ण आकार पाएका छैनन्।
दस वर्षे द्वन्दका घाउ बिसेक हुन पाएका छैनन्। त्यसै बीचमा व्यवस्था का विषयमा नै ठूलो प्रश्न चिन्ह लागि सक्यो। हरेक व्यवस्थामा सबल र दुर्बल दुवैले पक्ष हुन्छन तर अहिलेको व्यवस्थाकाे सबल पक्ष निकै कम र दुर्बल पक्षको लाम देखिएको छ।
युद्ध लड्दै गरेको माओवादीले बाडेका असंख्य सपना र जनआन्दोलन २ ले बोकेको महत्वकाक्षा एउटाले पनि पूरा हुन त पर जावस पूरा हुने क्रमको नजिक पुग्न सकेको छैनन्।
जसले गर्दा बितृष्णा बढेको छ। नेताका व्यवहारमा पनि परिवर्तन आउन सकेन।केही नेताको जीवनशैली रहन सहन हिजो र आजमा निकै भिन्न भएकाले पनि किन ? कसरी ?भन्ने सवाल उठ्न गएको छ। युद्धताका दिएका आश्वासन बाडिएका सपना अनन्त थिए।
अग्राधिकार सहितको स्वायत्त प्रदेश, आत्मनिर्णयको अधिकार, जातिय राज्य, सर्वहाराको अधिनायकवाद ,दलबिहिन व्यवस्था पार्टी केवल माओवादी मात्र हुने।
जुन व्यवस्था फाल्ने भनी युद्ध रचना गरिएको थियो त्यही ब्यवस्था भित्र रहनु पर्ने भयो।
संसदीय प्रणालीका विरुद्धको बिद्रोह थियो ०५२ सालमा आह्वान गरिएको युद्ध ।
अन्ततः सम्झौतामा टुङ्गियो त्यो पनि संसदीय प्रणालीमा रहेर जुन धेरैका लागि पाच्य थिएन। आज माओदादी सँग विद्रोह गरेका भनिएका त्यही ओकल्दै छन पनि।
अहिलेको समाज देश परिस्थितिको माग के छ भन्दा पनिभावनात्मक राज्यको कल्पना गरी युद्ध भएकाले युद्धको थामथुम व्यवस्थापनले समस्या निम्त्याएको छ।
माओवादी बाहिर संसदीय अभ्यासमा देखि रहने पार्टी पंक्तिमा हाम्रो ध्येय ,लक्ष अधिनायकवाद नै हो भन्ने चरित्रले पनि दुबिधा उत्पन्न भएको छ।
तमाम विषय थाती रहेका छन। युद्धको समाप्ति सँगै उठेका तमाम क्षेत्रीय बर्गिय मुद्दाहरूको अस्थायी समाधान खोजियो सम्झौता गरियो ती थाती विषय पनि अन्तर कुन्तरमा उठने गरेका छन।
जनआन्दोलनको भावना लोकतन्त्रको नयाँ स्वरुप हेर्न चाहान्थ्यो ।०४८ साल देखिका राजनीतिक बिकृती रहित को लोकतन्त्र खोजेका थिए। तर परिस्थिति बिकृतिको पुरावृती सँगै नयाँ स्वरुप र संस्करणमा देखिए।
सिद्धान्तको रटानले मात्र शासन व्यवस्था चल्दैन, स्वप्न कल्पनामा रचिएको योजना पनि शासन चल्दैन शासन व्यवस्था सुशासन बनाउन नेताको चरित्र र राज्यको नीतिमा भर पर्दछ।आजको व्यवहारवादी युगमा राजनेता को व्यवहारले निकै महत्व राख्दछ। एउटा प्रक्रियामा राजतन्त्र विस्थापित भएर गणतन्त्र स्थापना भयो तर नेताको व्यवहार,राज्यको नीति ,शैली स्वरुपमा तात्विक परिवर्तन हुन सकेन। हरेक दिन नया बिकृती राजनीतिमा भित्रियो। भ्रष्टाचार संस्थागत भएर गयो। राज्यको दोहन गर्नमा होड चल्यो। रातारात नव धनाढ्यको वृद्धि भयो।
बेरोजगारी अतिनै बढेको अवस्था रह्यो। न त कुनै नयाँ उद्योग बने नत भएका उद्योगले उन्नति गर्न सके। शिक्षा प्रणाली बेरोजगार उत्पादन केन्द्र बन्न गयो। त्यसैमा वैदेशिक रोजगारको ललिपप देखियो मानवीय अस्मिता र अस्तित्व बिर्सेर भए पनि बिदेश जानेको लर्को बढ्यो।भएका शिक्षित युवामा महत्वाकाक्षा अति बढ्यो त्यसको प्रत्यक्ष प्रहारको केन्द्र राज्य व्यवस्था भयो। समाजको एउटा पंक्ति यस्तो छ जो सबै समस्याको केन्द्र अहिलेका नेतालाई मान्दछ। यिनैले सबै बिगारेको हो भन्ने बुझाइ छ।
त्यो पुस्ता कसैको भुमिका, क्षमता,राजनीतिक त्याग बलिदानलाई स्वीकार गर्न सक्दैन। त्यही लहलहैमा लैवरी गाउनेको पनि कमि छैन। बेरोजगारी समस्याको समाधान नेतृत्व विस्थापित गर्नु मात्र होइन तर त्यही पाठ रटान गरी अगाडि बढेको अवस्था छ। त्यसैमा लामो समय महामारीको चपेटामा रहेको विश्व अर्थतन्त्रको प्रत्यक्ष प्रभावमा नेपाली अर्थतन्त्र पनि रहन्छ नै। थला परेको अर्थतन्त्रले बजार भाउ वृद्धि ,बेरोजगार वृद्धि गरेको छ। व्यवसाय धरासाही भएको छ।
अर्थतन्त्रले समाजमा पर्ने प्रभावको प्रहार बिन्दु पनि राजनीति नै हुन्छ। हुनत राजनीति सबै व्यवस्थाकाे मुख्य नीति हो स्वभाविक रूपमा केही त राजनितीले स्वीकार गर्नु पनि पर्छ तर सबै समस्याको जग राजनिती मात्र होइन तर अहिले त्यही देखिएको छ।
विभिन्न अतिवादी मौलाएका छन। धेरै त हिजोका दिनमा जनयुद्धलाई मलजल दिन सघाउने त्यो बापत मूल्य लिनेहरु जुरमुराएका छन। नेपालमा अस्थिर भएको हेर्न चाहनेको पनि कमी छैन। निहित स्वार्थ पूरा गर्न राजनीति धमिल्याइ राख्ने प्रवृत्तिले पनि काम गरेको छ। स्थिर राजनीतिमा खेलोमेलो गर्न नपाइने अवस्थामा अस्थिरतालाई यथावत गरि राख्न उद्द्त रहन्छन। तिनीहरूको सकृयता पनि निकै बढेका कारण राजनितीमा अस्थिरता बढेको छ।अस्थिर राजनीतिले पनि राजनिती ,राजनेता प्रतिको वितृष्णा बढाएको छ।
राज्यको स्वरुप पनि त्यति सुन्दर देखिएन। संविधानले गरेको समानुपातिक प्रणालीले कुनै दलको कहिले पनि बहुमत आउन नसक्ने ब्यवस्थाका कारण गठवन्धनको संस्कृति बिकास गर्नु पर्ने अनिवार्य जस्तै भएकाले पनि राजनीतिका अस्थिरता देखिएको छ।त्यसैमा समानुपातिक प्रणालीको दुरुपयोग भएको छ। यस प्रणालीका कारण अराजनीतिक ब्यक्तिको राजनीतिमा प्रवेश र प्रभाव हुने गरेको छ।
त्यस्तै आफन्त पोस्ने तथा आर्थिक चलखेल भैरहने कारणले जुन भावनाका साथ अवधारणा निर्माण भएको त्यसको बिपरित प्रयोग भएको छ। राजनीतिक अस्थिरता ,बढदो बिकृती, राजनेता प्रतिको बितृष्णा,युवाहरुको महत्वाकाक्षा,र बाहिरी चलखेलका कारण संघिय लोकतान्त्रिक गणतन्त्र खुम्चिएको छ। जनआन्दोलनको भावना यस्तो विकृती थिएन। अहिलेको राजनितीक परिस्थितिले गणतन्त्रको उपाहास गरेको छ।यति बेला आदर्श राजनेताको ठुलो अभाव खडकिएको छ।राजनीतिक अभिभावक विहीन अवस्था देखिएको छ।
राजनीतिक दल केवल सत्ता केन्दित भए सत्ताका लागि विचार,आस्था,जनभावना कुल्चेर अगाडि बढ्ने प्रवृती देखिएको छ। यही शासन शैली, राजनीतिक चिन्तन,यहि कार्यशैली र व्यवहारले गर्दा गणतन्त्र खुम्चिएको छ। त्यसैमा संघीयतालाई हाकी रहेका प्रदेशहरु हाँसाेका पात्र भएका छन। संघले उठ भन्दा उठनु पर्ने, बस भन्दा बस्नु पर्ने त्यसैमा स्रोत साधनको पनि आभावका कारण गरिबको घरमा सेतो हात्ती भएको छ। कही पनि,कुनै प्रशंसा योग्य प्रसंग सुनिदैन। केवल मन्त्रीको लस्कर मात्र देखिन्छ। संघको बजेटमा लुछाचुडी गर्ने थलो मात्र भएको छ। अपरिपक्व नेतृत्व हुने भएकाले लोकतान्त्रिक अभ्यास पनि हुनै नपाइ संसदीय प्रणालीको उपहास मात्र भएको प्रदेश ।
यथास्थितिले गणतन्त्र खुम्चिएको र संघीयता ओराले लागेको देखाउँछ। २०४८ सालका वर्षमा नेताकाप्रतिको आदर,सम्मान र नेताहरूको कार्यकर्ता प्रतिको दायित्व जीवन्त रहन सकेन। नेता मोटाउदै गए कार्यकर्ता चिन्नै नचिन्ने भए । कार्यकर्ता सधैं माग्ने भैरहुन भन्ने नेतामा सोच पलायो। चुनाव जित्न स्रोत साधनको व्यापक प्रयोग गरे भैहाल्छ भन्ने प्रवृतिको विकास भयो। एक चुनाव जितेर गएर अर्को चुनावको आर्थिक व्यवस्थापनमा समय व्यतीत हुनलाग्यो। जसले बिग्रदो अर्थतन्त्र र धमिलिएको राजनीतिको चिन्ता हुन सकेन।
केही कार्यकर्ता बाटो पर्खी बस्ने प्रवृत्तिको विकास भयो।अनावश्यक मोलमोलाइमा नेता कार्यकर्ता रहने अवस्थाले राजनीति धमिलो बन्यो । जसले समग्र व्यवस्था नै खुम्चिनु पर्ने परिस्थिति आयो। लोकतन्त्रको जग जनता हो राजनीति व्यवस्था जनतालाई केन्द्रमा राखेर अगाडि बढ्नु पर्थ्यो तर जनता परका भएका छन।
राजनीतिक केन्द्रमा शक्तिकेन्द्र स्रोत साधन भएका छन।जनताका लागि भनिएको राजनीति आफू केन्द्रित गरिएको छ। निहित स्वार्थका खातिर दल खुलेका छन। समानुपातिकका लागि च्याखे थापी रहेका छन।दलहरू विचारहीन,लक्ष विहीन कुहिरोको काग भएका छन। राजनीति मोटाघाटा बलियावाङ्गाले गर्ने होइन जनताले गर्नेको निर्भय निस्वार्थका साथ आफ्नो प्रतिनिधि चुन्न पाउनु पर्ने हो तर त्यो हुन सकेको छैन्।
राजनीति आस्थाको हुन्थ्यो। दलका प्रती जनताको आगाध विश्वास हुन्थ्यो। राजनेतालाई आदर्श मान्दथे। राजनेताका चरित्रलाई व्यवहारमा उतार्थे। तर, नत नेता प्रती बिश्वास रह्यो न आश भरोसा । नेताको व्यवहार पनि छुद्र बन्दै गयो । समर्पित कार्यकर्ता भन्दा आयाती कार्यकर्ता प्रती बढी भरोसा देखियो।
नेताहरूमा दुर दर्शिताको अभाव रह्यो। सत्ता केन्द्रित राजनीतिले व्यवस्था प्रति नै बितृष्णा पैदा गर्यो। विषम परिस्थितिको धुरी राजनीति दलले गम्भीर समीक्षा गर्न जरुरी छ।
आज बन्ने भोलि भत्किने दलको के ठेगाना तर जसको राजनिती इतिहास छ। लोकतान्त्रिक आन्दोलनको अगुवाइ गरेको छ। ती दलले अहिलेको अवस्थालाई गम्भीरता पुर्वक लिएन भने राजनीतिक दुर्घटना पनि हुन सक्छ। समयमै सजक र सतर्क भएन भने ठुलो मूल्य चुकाउने अवस्था नआउला भन्न सकिन्न। नेताका व्यवहार र प्रवृत्तिमा रुपान्तरण हुन जरुरी छ। बढ्दो बेरोजगारी समस्या समाधानको उपाय खोजिनु आवश्यक छ। बिग्रीएको अर्थतन्त्रमा सुधार गर्नु आवश्यक छ।चुनावलाई मार्यादित,मितव्ययी र लोकतान्त्रिक अभ्यास बनाउन जरुरी छ।हाम्रो चुनाव प्रणाली निकै भड्किलो भएको छ।सर्वसाधारण को पहुँच भन्दा बाहिर गएको छ। राजनीतिक परिवर्तन पछि आर्थिक सामाजिक परिवर्तन हुनु पर्थ्यो तर त्यो हुन सकेको छैन केवल सत्ता परिवर्तनको अभ्यास मात्र गरिन्छन। स्थिरताको सोछ बन्नु पर्यो।आवश्यक नै पर्छ भने पनि संबिधान नै संशोधन गरेरै भए पनि विद्यमान अन्योलको चिरफार गरिनु जरुरी छ।
परिस्थितिको गम्भीरतालाई समय मै सम्बोधन गर्नु आवश्य छ। यथास्थितिमा नै हो भने गणतन्त्र निकै खुम्चिएको छ संघीयता ओरालो लागेको अवस्था छ। सबैलाई चेतना भया।