५ असोज २०८०, शुक्रबार

भक्तपुरका भ्यागुतालाई भोज ! (तस्बिरहरू)

लेखाजोखा न्यूज

१४ भाद्र २०८०, बिहिबार ९:२८

भक्तपुर । भ्यागुताहरुलाई पनि भोज खुवाइयो भन्दा धेरैलाई अच्चम लाग्ला तर भक्तपुरमा बुधबार परम्परा अनुसार भ्यागुतालाई भोज खुवाइएको छ।

भक्तपुरका किसानले आ-आफना खेतहरुमा पुगेर भ्यागुतालाई भोज खुवाएका छन्।

प्रत्येक वर्ष जनैपूर्णिको दिन यहाँं यस्तो चलन चल्ने गर्दछ।

हातमा ठूला ठूला पात राखी पातमाथि भोजका परिकार राखेर भोज खुवाउन किसान खेत पुगेका थिए। भोजमा थरीथरीका परिकार रहेका हुन्छन्। भोजमा खाना, रोटीसँगै मौसमी तरकारी र क्वाँटी पनि राखिएका हुन्छन्। खानाका परिकार मात्रै होइन, गोलाकार पारेर काटिएका मूलाका चाना सिन्कोले घोचेर भातमा अड्याइएको हुन्छ। यसलाई ऐनाको रुपमा बुझिन्छ। रक्षाबन्धन धागो र सिन्दूर पनि त्यहीँ राखिएका हुन्छन्। छेवैमा धुवाँइरहेको धूपले सुगन्ध फैलाइ रहन्छ।

जनै पूर्णिमाका अवसरमा बुधबावार सबेरै देखि मठमन्दिरमा भिड चुलिँदै जाँदा भक्तपुरका किसान भने यिनै सामग्री बोकेर आफ्ना खेततिर लागेका थिए अनि आलीमा टुक्रुक्क बसेर ’पाहुना’ डाक्न थाले।

आजका पाहुना कुनै विशिष्ट आफन्त वा नातागोता थिएनन् । यो सत्कार थियो, भ्यागुतालाई । किसानले भ्यागुतालाई परिकार पस्किदिए । सामुन्ने नआए पनि तिनलाई रक्षा बन्धनको धागो दिए । सांकेतिक रूपमा सिन्दूर पहिरायाइ दिए । अनि ऐना (भातमा गाडिएका मुलाका चाना) देखाइ दिए । भ्यागुतोलाई दिए पछि किसानले आलीमै बसेर आफूले पनि भोज खाए । आफू हिँडेपछि भ्यागुताले खाने विश्वासमा उनीहरूको भाग त्यहीँ छाडिदिए ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग भ्यागुतालाई किसानको सहयोगीका रूपमा लिई सम्मानसाथ भोज खुवाउने परम्परा रहेको बताउँछन्। बालीनाली संरक्षण गरिदिएको कदरसहित वर्षमा एकपटक भ्यागुतालाई सम्झने परम्परा अहिले पनि जस्ताको त्यस्तै रहेको ठान्छन् उनी। ’भ्यागुताले विभिन्न माध्यमबाट बालीनाली संरक्षण गरी किसानलाई सहयोग गरिरहेको हुन्छ,’ उनले भने, ’भ्यागुतो उफ्रँदा बारीमा मल फिँजिन्छ, बाली बिगारिदिने कीटाणु खाइदिन्छ ।’

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend