चीनबाट अक्सिजन ब्याग, मास्क र सिलिण्डर ल्याउदैछौँ : व्यवसायी घिमिरे

लेखाजोखा न्युज
३१ बैशाख २०७८, शुक्रबार २०:१४

काठमाडौं । कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजनको व्यवस्थापन गर्न निजी क्षेत्र पनि जुटेको छ । मुलुकभर अक्सिजनको अभाव भएपछि एभरेष्ट ग्यास ग्रुपका अध्यक्ष व्यवसायी शिवप्रसाद घिमिरेले चीनबाट अक्सिजन व्याग, अक्सिजन मास्क तथा अक्सिजन सिलिण्डर ल्याउने भएका हुन् ।

ग्रुप अन्तर्गतका दुई कम्पनी एसएलआर टेक्नो एन्ड ट्रेड प्रालि र एभरेष्ट ग्यास उद्योग प्रालिमार्फत भित्र्याइने यी सामग्री सात दिनभित्रै आइपुग्ने अध्यक्ष घिमिरेले जानकारी दिए ।

पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन ब्याग तथा ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर सोमबार हवाई मार्गबाट काठमाडौं आइपुग्ने जनाइएको छ । यस्तै, अक्सिजन सिलिण्डर १० लिटर क्षमताका २२ सय युनिट र अक्सिजन सिलिण्डर ४० लिटर क्षमताका २ हजार २ सय ५० युनिट जेठ ७ गतेभित्र स्थलमार्गबाट नेपाल ल्याइपुर्याइने अध्यक्ष घिमिरेले बताए ।

घिमिरेले मुलुकमा अक्सिजन अभावको समस्या भयावह भएको उल्लेख गर्दै यो बेला मुनाफा नराखी लागत मूल्यमा यी सामग्री आवश्यकताका आधारमा अस्पताल तथा व्यक्तिहरुलाई उपलब्ध गराइने बताए ।

‘अहिलेको महामारीमा हामी सबै व्यवसायीले विदेशमा आफ्नो नेटवर्कमार्फत अक्सिजनलगायतका अत्यावश्यकीय स्वास्थ्य सामग्री भित्र्याउन पहल गर्नुपर्छ भनेर यो प्रयास गरिएको हो, अध्यक्ष घिमिरेले भने – ‘तत्कालका लागि अक्सिजन सिलिण्डर, ब्याग र मास्क भित्र्याएका छौं र आवश्यकताका आधारमा थप सामग्री ल्याउने योजनामा छौं ।’

अक्सिजन ब्यागको प्रयोग यातायातको पहुँच नपुगेका क्षेत्रमा तत्काल अस्पताल पुर्याउनु पर्ने संक्रमितका लागि गर्न सकिने जनाइएको छ । अन्य मुलुकमा यस्तो व्याग आपतकालिन उपचारका लागि प्रभावकारी सावित हुँदै आएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com