बुढानिलकण्ठको खल्लो चिया !

लेखाजोखा न्युज
२७ बैशाख २०७८, सोमबार ०७:१०

०४४/४५ सालतिरको कुरो हुनुपर्छ ! तिथिमिती त ठ्याक्कै थाहा भएन तर खर्बुजाको सिजन चै याद छ। उत्तर डागिबारी तिर बाट एकोहोरो शंखध्वनिका साथ आएको शवयात्रा देखेपछि चौबाटोमा निस्केर सोधेँ – को हो भाई ?

दाहाल्नी आमै !! कसैले बतायो !। दौडिदै घरमा आएर सुनाएँ – दिदी बित्नु भएछ मलामी जानुपर्ने भो ।

भाईले सम्झायो – अनि गाई चै कस्ले दुहुने नि ? हो त ! एकहाते गाई ! म बाहेक कसैलाई हात लाउन नदिने । हत्तपत्त गाई दोईसकेर लुङ्गी स्याहार्दै कुदे मेची बगर तिर  सङ्गम चोकमा मलामी समुह भेटेपछि मेरो नजरले भान्जाहरु खोज्यो ।

छेउमा पुगेर सगसगै हिंड्न थालें । बोली फुटेन। मेची बगर पुगेपछि कोहि चिता तयारीमा लागे कोहि आ आफ्नै गफको सुरमा मस्त । म भान्जाहरुको छेउमा मलिन अनुहार लाएर बसेको छु ।

‘ यस्तै हो भान्जा सबैले ढिलो चाडो भोग्नै पर्ने नियति मैलो त निकै अधि भोगेको हो । चित्त बुझाउनुपर्छ ‘ आदि ईत्यादी  किल्किले सम्म आईसकेका शब्द समेत मुख बाट निस्किन भने सकेन !! भान्जाहरुमा मातृवियोगको जुन स्वाभाविक पीडा देखिनु पर्थ्यो त्यो थिएन । सामान्य थिए उनिहरु ।

सोचें – उमेर पुगेर बितेकी बिरामी आमाको मुक्तिमा चित्त बुझाएका होलान । मन थामेका होलान  । चिता तयार भो ।दागबत्ती दिने बेलामा सबै चिताको वरिपरि भेला भए । म पनि नजिकै पुगे । ताज्जुव त्यसबेला भो जब दागबत्ती दिन त मोहन दाहाल पो अधि बढे ।

दाल्हानी आमै त मेरि दिदी नभएर मोहन दाहालको आमा पो हुनुहुदोरैछ ।  म बिरालाको चालमा पछि सरेर अलि पर गएर झोक्राउदै सोच्न थाले – धन्न किल्किलेमा आईसकेको शब्द थुतुनोमा आएनछ । छ्या : के गति हुन्थ्यो होला मेरो ? निधन भएकी दाहाल्नी आमै आफ्नी दिदी नभएको पुष्टि भएपछि केहिबेर अघिको मेरो मलिन अनुहारमा परिवर्तन आयो।

अहिले सम्झिदा लाग्छ – मान्छे कति अविबेकी हुँदो रहेछ। केही बेर अधि सम्मको मेरो भावुकता खै ? आखिर मेरि दिदी नभए पनि छिमेकी दाईकै आमालाई त चिताले निल्दै थियो नि !

आफैं सग मनमनै लाज पनि लाग्यो ! कता कता घिन मिश्रित हाँसो पनि थियोे । चिता जल्दै थियोे मलामी आफ्नै सुरतालमा मस्त थिए । चापागाईं बाजेले मलामिले खाएको खर्बुजाको सबै पैसा आफुले तिरिदिने उर्दि जारी गरेपछि अधिकांस मलामी खर्बुजा बारिलाई अशोक बाटिका मान्दै आफू हनुमान हुनमै मस्त थिए ।

उनीहरु मलामी भएतापनी जन्तीको भुमिकामा ब्यस्त थिए !! फर्किदा मलामी ख्वाउने रित अनुसार महाराजिको होटलमा चिया नास्ता गरेर मलामी बिदा भए ! घरमा आएर सबै कथा सुनाएँ । केहिबेर सबै हाँसियो । सकियो ।


*********
उखान अन्कल बुढानिलकण्ठ पुग्नु भो ! माकुने टोलतिर बाट एकोहोरो शंखध्वनिको आवाज सुनेपछि सोध्नु भो – को हो ?
काङ्ग्रेस !! कसैले बताईदियो।

किल्किले नभएको थुतुनो ! आफैंले व्यापक प्रचार गर्नु भो – काङ्ग्रेस बित्यो भनेर दौरा स्याहार्दै कुद्नु भो काङ्ग्रेसको मलामी बच्चैदेखि तित्रा झै चल्ने थुतुनो निरन्तर चलिरह्यो । काङ्ग्रेस मर्यो , सक्कियो , बित्यो के मात्रै भन्नू भएन ?

तर जब बुढानिलकण्ठमा मन्द मुस्कानका साथ देउवा देखा पर्नु भो ! सगसगै जिवित काङ्ग्रेस पनि ! उखान अन्कल जिल पर्नुभो ! आफैंले मर्यो भनेर प्रचार गरेको काङ्ग्रेस त जिवितै छ । चाहेको खण्डमा आफैंलाई बोक्न सक्षम तन्दुरुस्त !! पछि फर्केर एकपाखे थापा तिर ” के हो ?” को भावमा हेर्नू भो । थापाजी उखान अन्कलको कानमा फुस्फुसाउनु भो – काङ्ग्रेस हैन एमाले पो मरेको भन्या हो त !

अनि तिमिले यो जानकारी पहिले किन नदिएको त मलाई ? उखान अन्कल हल्का आक्रोशित हुनु भो । दिन खोजेको त हो नि ! मैले एमाले भनेको तपाईं काङ्ग्रेस सुन्दै बुर्कुसी मार्दै थुतुनो चलाउन थालिहाल्नुभो ! अनि मैले के गर्नु त ?

तिमेर्ले रोक्नुपर्ने हैन मलाई ? मैले बुर्कुसी मार्दा तिमेरु पनि मेरै पछि ताली बजाउदै कुद्नु पर्छ त ? मलाई सहि सल्लाह दिनुपर्दैन ?
तपाईं कसैको सल्लाह मान्ने हो र ? सल्लाह दिनु ! तपाईं उफ्रिदै कुदेपछी हामी पनि कुद्नु परिगो नि ! चम्चाको काम त औंलाले जता नचाउछ उतै नाच्ने त हो नि !

उखान अन्कल केही बोल्नु भएन । देउवासग केहि बेर गन्थन गरेर बिताउनुभो । भित्र बाट कालो चिया आयो । दङ्ग पर्दै सुरुप्प पार्नुभो । मुख बिगार्नुभो । फेरि खिस्स हाँस्नुभो । चिनी बिनाको चिया !! चिया खाईसकेर मुसुक्क मुस्काउदै बिदा माग्नु र भन्नूभो – कति स्वादिलो चिया ? सारै आनन्द आयो ।
****
मलाई ४४/४५ सालको मलामी यात्रा सम्झना भो ! सम्झेर अहिले पनि लाज लाग्यो ! उखान अन्कललाई कहिले लाग्ने होला ?
तपाईंहरुलाई त पक्कै लागिसक्यो होला ! हैन त ??

WP2Social Auto Publish Powered By : XYZScripts.com