पहाड र प्रेम : १०

लेखाजोखा न्युज
२५ बैशाख २०७८, शनिबार ०९:२८

पहाडहरूले
देउडा गाउँदै ब्युँझिरहेका बेला
जूनले पनि पहाड बनेर
टुलुटुलु हेर्यो मान्छेको अनुहार

एकाबिहानै
धूँवा ओकल्दै ब्युँझिए वस्तीहरू
सिलिङमिलिङ चल्न थाले
पहाडका पटुकीहरू
देउडाको थकाइ नमर्दै
कर्णालीसँग सुसाउँदै
अनवरत उचालियो
मान्छेको पदचाप

पहाडका पहाडहरू
देउडा नाच्न थालेपछि
पहाड आफैँ
गजधम्म उभिएर
नाच्न थाल्दोरहेछ जूनसँग
र, देउडामा साटिएको
मायाको स्पर्श च्यापेर
मायाको बखानमा नथाक्ने प्रण गर्दै
न हतार न फुर्सदको समयमा
बगिरहँदोरहेछ कर्णाली

गीत खोतल्न
किन चाहियो र घाम र दिन नै
आफैँ गीत बनेर उभियो जून रातमा
माया भयो भने
ढुङ्गाहरू आफैँ बगाउँछन् शिलाजित
यसबेला तिमी छैनौ
म छु
तैपनि अनेकौँ डाँडाकाँडा नाघेर
गुन्जिरहेछ हाम्रो गीत
नदी, पहाड र आकाशका
बिलकुल नयाँ आकृतिहरूमा ।

छिप्रा, हुम्ला
२०६५ भदौ ३०

WP2Social Auto Publish Powered By : XYZScripts.com