प्रहरी अस्पतालमा अक्सिजन उत्पादन हुँदै

लेखाजोखा न्युज
२२ बैशाख २०७८, बुधबार ०७:०३

काठमाडौं – दिनकै कोरोनाका बिरामी बढ्दै गएका छन् । जसकारण कतिपय ठाउँमा औषधिउपचार सँगै अक्सिजनको अभाव भइरहेका खबरआइरहेका बेला काठमाडौंको महाराजगञ्जमा रहेको नेपाल प्रहरी अस्पतालमा अक्सिजन उत्पादन शुरु गरिएको छ। उक्त अस्पतालले दैनिक १४० सिलिण्डर उत्पादन क्षमताको ‘डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’ सञ्चालनमा ल्याएको हो। प्रतिसिलिण्डर ४६ लिटर अक्सिजन क्षमता रहेको बताइएको छ ।

अस्पतालमा खपत हुनेभन्दा बढी अक्सिजन उत्पादन हुने भएकाले महामारीको समयमा अन्य क्षेत्रमा माग अनुसार अक्सिजन वितरण हुनेछ। कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिण्डर फिलिङस्टेशन लगायतका उपकरण राखिएको उक्त सिस्टम ‘युनाइटेड नेशन अफिस फर प्रोजेक्ट सर्भिसेज’ (युएनओपिएस) को सहयोगमा करिब ३ करोड रुपैयाँ लागतमा सञ्चालनमा ल्याइएको हो।