निर्णायक खनाल-नेपाल समूहका तीन रणनीति

लेखाजोखा न्युज
२२ बैशाख २०७८, बुधबार ०६:५०

सत्ता समीकरणमा निर्णायक भूमिकामा रहेको जसपा विभाजित भएपछि एमालेको खनाल-नेपाल समूहका निर्णायक बनेको छ ।

नेपाल पक्षका एक नेताले बताएअनुसार अहिले तीन विकल्पमा छलफल चलिरहेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने,फ्लोर क्रस गर्ने या त्यसअघि नै राजीनामा दिने भन्नेमा छलफल भैरहेको उनले बताए । उनका अनुसार सामूहिक राजीनामा दिने सम्भावना बढेर गएको छ ।

विश्वासको मत लिने प्रधानमन्त्री ओलीको निर्णय आफूहरुलाई आत्मसमर्पण गराएर जाने रणनीतिका साथ आएको नेपाल पक्षको बुझाइ छ । विश्वासको मत लिएपछि तुरुन्तै कारवाही गर्ने बालुवाटार बैठकको योजना कसैले नेता कानमा पारिदिएपछि नेपाल समूह सशँकित बनेको बताइन्छ ।

विश्वासको मत लिने,अनि लगत्तै कारवाही गर्ने ओली पक्षको तयारी हामीलाई थाहा भयो । त्यसैले हामी त्यसअगाडि नै राजीनामा दिने कि भन्ने सोचमा पुगेका हौँ’, नेपाल समूहका ती नेताले भने ।

नेपाल समूहले फ्लोर क्रस गरेर सरकार ढालेको या पार्टी फुटाउन बाटो खोलेको आरोप खेप्नुभन्दा राजीनामा दिएर जाने विकल्पलाई उत्तम हुने विषयमा छलफल गरिरहेको बताइन्छ ।

अदालतको फैसलाअनुसार प्रधानमन्त्री ओलीले ०७५ जेठ २ मा फर्किएर एमालेलाई एकताबद्ध बनाउने भन्दा पनि आफूहरुलाई लतारेर आत्मसमर्पण गराउने रणनीति अख्तियार गरेपछि ‘काउन्टर जवाफ’ फर्काउने नेपाल समूहको तयारी छ । ‘मर्ता क्या नहीं कर्ता’ भनेजस्तै आवश्यक परे जस्तोसुकै कठोर निर्णय लिन पनि तयार रहेको ती नेताले बताए ।

नेपाल समूहले अहिलेको सांसद पदलाई ‘नाफाको पद’ भएकाले जतिबेला पनि छाड्न तयार रहेको बताएको छ । ‘पुस ५ गते नै एक हिसाबले पद गएको थियो । त्यसयता अहिले भएको नाफाको पद हो । पद जाला भन्ने कुनै डर छैन । अझै पनि पार्टीलाई एकतावद्ध बनाउन सकिन्छ कि भन्ने प्रयास मात्र हो’,ती नेताले भने ।

विश्वासको मत लिने नाममा प्रधानमन्त्री ओली फेरि संसद विघटन भन्दै सत्ता लम्ब्याउने दिशातर्फ अघि बढेको नेपाल पक्षको बुझाइ छ । संसद्को अंकगणितले एमालेका सबै सांसदले विश्वासको मत दिँदा पनि सरकारलाई बहुमत जुटाउन कठिन हुन्छ । १२१ सिट रहेको एमालेलाई बहुमत पुर्याउन कम्तिमा थप १४ सांसद चाहिन्छ ।

जसपाको महन्थ राजेन्द्र खेमाले कति मत जुटाउन सक्छ सरकार जोगिने या जाने फैसला त्यसैले गर्छ । यद्यपि प्रधानमन्त्री ओलीको जोड चुनाव भन्दै मधेसी यौटा खेमा,नेमकिपा र राप्रपाको बलले सत्तामै टिक्ने देखिन्छ ।