आन्तरिक र अन्तरास्ट्रिय उडान बन्द : चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

लेखाजोखा न्युज
२१ बैशाख २०७८, मंगलवार १३:००

काठमाडौं। कोरोना संक्रमण फैलिदै गएपछि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा संगसंगै सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान पनि बन्द गरेको छ ।

अन्तर्राष्ट्रिय उडान भने यही वैशाख २३ गते मध्यराति देखि बन्द गर्ने निर्णय यसअघि नै गरिसकेको छ। यसबिचमा पनि नेपाल र भारतबीच हवाई उडान जारी नै रहने छ ।

दुई देशबीच सातामा दुई उडान जारी नै राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

मन्त्रिपरिषद्को गएको आइतबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।

यस अवधिमा चार्टर्ड तथा उद्धार उडान भने सञ्चालन हुने क्यानले जनाएको छ । प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यकताका आधारमा अनुमति लिएर आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैमा चार्टर्ड तथा उद्धार उडान हुने बताए। भारत र नेपालबीच एयर बबल प्रणालीअनुसार सम्झौता बमोजिम हप्तामा बढीमा दुई उडान हुनेछन् ।

यसरी भारतबाट नेपाल आउने यात्रुले १० दिन क्वारेन्टिनमा बस्नु पर्नेछ । मन्त्रिपरिषद्ले हवाई उडानसम्बन्धी पाँच बुँदे निर्णय गरेको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुचीकृत गरेका होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरु साताको दुईवटामा सीमित गर्ने निर्णय भएको छ ।