इगोको आत्महत्या पश्चात्

लेखाजोखा न्युज
२१ बैशाख २०७८, मंगलवार ११:०३

सिङ्गो पृथ्वी धाजा फाटेर
दुइटा गोलार्धमा बाँडिएका
बिपरित ध्रुवहरु
समयको गर्भबाट जन्मेका भिन्न नदी
संयोगको दोभानमा मिसिन पुग्दा
उध्रिएको सुइटरको धागो जस्तै
फुक्दै जाने स्मृतिका धागाहरु
हिसाब नमिलेको रीसमा
हुर्याइदिएको क्याल्कुलेटर
आगो नबलेको झोँकमा
फुटाइदिएको लाइटर
रफ्तार नमिलेको बहानामा मोडिएका बाटाहरु
ब्यबस्थापन गर्न नजानेर बेहोरेका घाटाहरु

एक- एक दृश्य
ब्ल्याकनह्वाइट सिनेमा जस्तै
रिमेक गरिएको सिक्सटिजको सिनेमा
रिमिक्स गरिएको नाइन्टिजको पार्स्व गित
अलिअलि उस्तै जस्तो
अलिअलि बेग्लै जस्तो
अलिकति आफन्त झैँ लाग्ने
अलिकति पराइ झैँ लाग्ने
बोल्न दकस लागेजस्तो
छुन सरम लागेजस्तो
मानौ उनीहरु एकअर्काका कोही होइनन्
मानौ उनीहरु अहिलेसम्म कहिल्यै भेटेकै छैनन् ।

शिशिरको उत्तिस जस्तै उजाडिएको उसको इगोको बोट
दाँत झरेको बाघको जस्तो निर्जिव गर्जन
रेडिएसनले रौँ झरेर मुडुलो भएको शीर जस्तो उनको रुप
सुनको लेप खुइलिएर बिद्रुप बनेको ढलोटको मुर्ती जस्तो उनको अनुहार
दन्तविहिन रित्ता गिजाहरुले
भोगाइका कारखानामा उत्पादित
ग्रेनाइटका चिउराहरु चपाउँदै
जीवनबोधको एैरेलुको तीतो झोलसँग
पश्चातापको घुट्को लिँदै
अनुहारमा परेका किरिङमिरिङहरुलाई

हातका हस्तरेखा सँग ट्यालि गर्दै
डिजर्टेड ल्यान्ड बनेको युगल जिन्दगीको डस्टबिनबाट
निकालेर खियालागेकोनटबोल्ट
अनि कँसेर डबलबेड बिस्तारा
फेरेर ब्याट्री पुरानो भित्ते घडीमा
सजाएर ताजा फूल चर्केको फूलदानीमा
एउटा निर्जिव `हाउस´लाई
`होम´ बनाउन
होमिएका छन्
उड्दा उड्दै थाकेर भुइँमा खसेका
एक जोडी मलेवाका जोडीहरु!

मधुमासदेखि महासङ्ग्रामसम्मका यात्राहरुमा
तँतँ र ममले उभ्याएका ग्रेटवालहरु भत्काएर
आज बेरिईरहेछन् अँगालोमा
पिपलको बोटमा टाँसिएको ऐजेरु जस्तै
थाङ्रामा बेरिएको अँगुरको लहरा जस्तै
काली र सेतीको दोभानमा बनेको
अर्ध-अस्तित्वमा पूर्णता खोज्दै
बग्न राजी भएको छ एक नदी!

निकै सुन्दर देखिँदो रहेछ
अभिमानी अन्नपुर्ण
श्रद्धाले नुघेर
फेवाको निधारमा प्रेमिल चुम्वन गरेको दृश्य !