पश्चिम बंगालमा फेरि चल्यो ‘दिदी’को जादु

लेखाजोखा न्युज
२० बैशाख २०७८, सोमबार ०६:५०

पश्चिम बंगालको चुनावमा फेरि एक पटक मुख्यमन्त्री तथा तृणमूल कांग्रेस ९टीएमसी० प्रमुख ममता बनर्जीको जादु चलेको छ । पश्चिम बंगालमा विभिन्न आठ चरणमा विधानसभा चुनाव भएको थियो ।

आइतबार दिउँसो साढे चारबजेसम्मको मतगणनाअनुसार ममताको पार्टी तृणमूलले भारी बहुमतसहित लगातार तेस्रो पटक सरकार बनाउने देखिएको छ । पछिल्लो मतपरिणामअनुसार टीएमसीले २९४ ९चुनाव भएको २९२० विधानसभा सिटमध्ये २१५ मा अग्रता लिएको छ । भारातीय जनता पार्टी भने ७६ सिटमा अगाडि छ । योसँगै ममता तेस्रो पटक मुख्यमन्त्री बन्ने सुनिश्चित देखिएको छ ।

भारतका पश्चिम बंगाललगायत आसाम, पोन्डीचरी, तमिलनाडु र केरल राज्यमा हालै विधानसभा चुनाव भएको थियो । तीमध्ये पनि पश्चिम बंगालको चुनावी परिणामलाई लिएर विशेष चासोका साथ हेरिएको थियो । भाजपाले पश्चिम बंगालको नतिजा आफ्नो पक्षमा पार्न पूरै शक्ति खन्याएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीदेखि गृहमन्त्री अमित शाह र उत्तरप्रदेश मुख्यमन्त्री योगी आदित्यनाथले कोरोना महामारीलाई बेवास्ता गर्दै दर्जनौं चुनावी ऱ्यालीहरुलाई सम्बोधन गरेका थिए ।

पार्टीको आईटी प्रमुख अमित मालवियसहितको जम्बो आईटी सेलले महिनौंदेखि कोलकातामा डेरा लगाएर बसेको थिए । भाजपाले चुनावी परिणाामलाई आफ्नो पक्षमा ल्याउन आफ्नो संगठनलाई मात्र सक्रिय बनाएको थिएन सत्तारुढ टीमएसीका प्रभावशाली नेताहरुलाई समेत आफ्नो पार्टीमा प्रवेश गरेका थिए । तिनमा ममताका विश्वासपात्र भनेर चिनिएका सुवेन्दु अधिकारीहरुसमेत थिए ।

भाजपाको आक्रमक चुनावी ऱ्याली, स्रोत साधनका आधारमा राजनीतिक पण्डितहरुले समेत यसपटकको चुनावमा टीमएसीलाई सत्ता जोगाउन हम्मे पर्ने विश्लेषण गरेका थिए । त्यसमाथि मतगणनाअघि सार्वजनिक भएका एक्जिट पोलहरुले पनि टीएमसी र भाजपाबीच कडा टक्कर हुने प्रक्षेपण गरेका थिए । तर, ती सबैलाई फेरि एक पटक गलत सावित गर्दै ममताको टीएमसी फेरि एक पटक सत्ताको बागडोर सम्हाल्न पुगेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।