११ असोज २०८०, बिहिबार

संकटमा निरीह सरकार !

लेखाजोखा न्यूज

१८ बैशाख २०७८, शनिबार ११:४९

काठमाडौं – देशभरका स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । सुदूर पूर्वदेखि सुदूर पश्चिम सम्मका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कोरोना संक्रमण भएका विरामी बढ्न थालेका हुन् । त्यति मात्रै होइन अस्पतालमा राम्रो उपचार नपाएर ज्यानै जान थालेको छ ।

वैशाख १५ गते इमर्जेन्सीमा भर्ना भएका बुटवल ११ का ८३ वर्षीय पुरुषमा १६ गते कोरोना संक्रमण पुष्टि भयो । कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा आइसीयू बेड खाली थिएन । उनी २४ घण्टादेखि इमर्जेन्सी वार्डमै बेडको प्रतिक्षा गरि रहे । इमर्जेन्सीमा अक्सिनको सहायतमा राखिएका उनको शुक्रबार बिहान साढे ९ बजे आईसीयू नपाएपछि लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै प्राण गएको खबर सञ्चारमाध्यममा आयो ।

यो त प्रतिनिधि घटनामात्रै हो । अधिकांस कोरोना संक्रमितले भोग्नुपरेको नियती यहि हो । बाँकेको नेपालगन्जमा रहेका स्वास्थ्य संस्थामा कोरोना संक्रमितको पीडा सब्दमा उल्लेख गर्न सकिँदैन । सुदूरपश्चिमको धनगढीमा रहेको सेती प्रदेशिक अस्पतालमा पनि बिरामी थेगिनसक्नु छ । यता चितवनका अस्पतालहरूमा सिकिस्त कोरोना संक्रमितहरूको चाप बढेपछि व्यवस्थापनमा समेत समस्या हुन थालेको छ । चितवनको सबभन्दा ठूलो सरकारी अस्पताल भरतपुर अस्पतालमा कोभिडका लागि छुट्याएका बेडहरू गम्भीर बिरामीहरूले भरिएका छन् ।

कोभिडका बिरामी बढ्दै जाँदा प्रसूति, जनरल, आईसीयू, एनआईसीयू, अप्रेशन, डायलासिस लगायतका सेवा प्रभावित हुन पुगेका छन् ।

अस्पतालले हिजो (शुक्रबार)बाटमात्रै ओपीडी सेवा समेत बन्द गरेको छ । त्यति मात्रै होइन त्यहाँ अस्पतालका दर्जन बढी स्वास्थ्यकर्मीमा समेत कोरोना पोजेटिभ देखि सकेको छ ।
भरतपुरमा रहेका २ दर्जन भन्दा बढी निजि अस्पतालमा पनि कोरोनाका गम्भीर बिरामी बढिरहेका छन् । तर, पूर्वाधार र जनशक्ति सीमित भएकोले निजी अस्पतालहरूमा धेरै संक्रमितले उपचार पाउन मुश्किल हुने बताइन्छ ।

कोरोना महामारीको जोखिम बढेपछि थप ५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले आज (शनिबार)बाट निषेधाज्ञा जारी गरेको छ । त्यस्तै रुकुम पश्चिम, डडेल्धुरा र झापाले आइतबारदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा हुँदैछ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाका स्थानिय तहमा पनि आंशिक निषेधाज्ञा छ । ती क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि र जाजरकोटमा शनिबार १८ देखि २५ गतेसम्म त्यस्तै रुकुम पश्चिममा आइतबारदेखि ३१ गतेसम्म, डडेलधुरामा २५ गतेसम्म र झापामा २६ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

यसअघि काठमाडौं उपत्यकाका तीन जिल्लासहित कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरीमा जिल्लाभर र बागलुङ, कालीकोट, बर्दियाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

वैशाख १३ गतेको मन्त्रिपरिषद् बैठकले तराई र काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमित ५ सय र हिमाली र पहाडी जिल्लामा २ सय सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । अहिले विभिन्न जिल्लामा संक्रमितको संख्या बढीरहेको छ । सोही आधारमा हरेक दिन निषेधाज्ञा जारी हुने जिल्लाको संख्या बढ्दै गएको हो ।

निषेधाज्ञा जारी हुँदा विदेशबाट आउनेहरु देखि टाढाको गन्तव्यमा पुग्नुपर्ने यात्रु प्रभावित भएका छन् । आफ्नो पार्टिको कार्यक्रमको लागि जिल्ला जिल्लाबाट बसमा कार्यक्रता काठमाडौं उतार्ने राजनीतिक दलहरु अहिले प्रायः बेखबर छन् ।

गत माघमा भृकृटीमण्डपमा होस् या नारायणहिटी अगाडि आफ्नो पार्टिको कार्यक्रमका लागि सहभागीलाई जिल्ला–जिल्लाबाट बसमा ओसारिएका थिए । अहिले महामारीले लखेटिएका जनता राजमार्ग छेउमा अलपत्र छन् । उसोत अघिल्लो पटकको लकडाउनमा गरीखानेहरु पूर्वी नेपालबाट सुदूरको कैलाली सम्म हिडेरै जान विवस भने नभएका होइनन् ।

कोभिड १९ को संक्रमण नेपालमा निकै उच्च गतिमा फैलिरहेको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै काठमाडौं उपत्यकासहित अन्य १९ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएका कारण अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको बताएको हो । जोखिम दिनकै बढीरहँदा स्वास्थ्य मन्त्रालयको यस्तो अपील आएको हो ।

नेताका अनेकौं भाषण सुनेका नेपाली जनताले यो संकटको घडिमा समेत नेता र सरकारको समेत साथ पाउँन सकिरहेका छैनन् । भारतमा उपचार नपाएर घर फर्किएकाहरुले नेपालमै फर्किदा समेत उपचार नपाएर ज्यान गुमाईरहेका छन् ।

‘नेताका गफ सुनियो । सरकारका योजना पनि सुनियो । तर, अहिले आफूलाई आइपर्दा यो संकटको घडिमा मृत्युसँग लडिरहेकाहरुले अस्पतालमा उपचार समेत पाउँन सकिरहेका छैनन् ।’ अस्पतालमा भेटिएका कयौँका यस्तै दुःखेसो छन् ।

अहिले अवस्था निकै विग्रीन थालिसकेको छ । कोरोना संक्रमितहरु अस्पतलमा उपचार नपाएर छटपटाउन थालिसकेका छन् । कोरोनाको यो अवस्था आउन नदिन सरोकारवालाहरु कहिले पनि जिम्मेबार हुन सकेनन् । प्रधानमन्त्री केपी ओली नै लाखौँ मान्छे सडकमा उतार्ने ताकत देखाउन थाले । मन्त्रीहरु पुलपुलेसा उद्घाटनमै व्यस्त रहे । जसकारण अहिलेको यो अवस्थाको सामना गर्न मुस्कील हुन थालेको हो । अवस्था यहि रहनेहो भने अझै नराम्रो अवस्था आउन समय लाग्ने छैन ।

सरकारले कोरोना महामारीमा जुध्नको लागि आवश्यक तयारी नगरीरहेको आवाज उठिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि कोरोनाको संक्रमणदर बढ्नुमा सरकार मुख्य जिम्मेवार रहेको बताएका छन् । निजी निवास बुढानीकण्ठमा शुक्रबार पत्रकार सम्मेलन गरी देउवाले अत्यन्तै कम मात्रामा पिसिआर परीक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित हुनु भनेको देशमा संक्रमणको अवस्था डरलाग्दो भएको भन्दै सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मन्यता मुख्य जिम्मेवार रहेको बताएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ भन्दा बढी पुगीसकेको छ । निको हुनेको संख्या पनि २ लाख ८१ हजार ९५ पुग्दा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ । यो संकटको घडिमा के साँच्चिकै सरकार निरीह नै बन्नेहो ?

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend