पहाड र प्रेम : ९

लेखाजोखा न्युज
१८ बैशाख २०७८, शनिबार ०७:४३

आफ्नै करङका
झिँजामिजाजस्तो
दाउराका भारी पिठ्यूँमा बोकेर
ग्राहकको खोजीमा हिँडेको एउटा बूढो
बल्लतल्ल दाउराका भारी बेच्छ
र, नुन–चामलको जोहो गर्छ

उसले
दाउरा होइन
आफ्नै करङका हाडहरू बेचिरहेछ
मासु नै नभएको शरीरको
मासु र रगत बेचिरहेछ
मन त बग्दै बग्दै
विस्थापित भइसकेको छ कर्णालीसँगै
मन बेचेर मन जोगाउनु
शरीर बेचेर शरीर हुर्काउनु

साँच्चै ढुङ्गामा सूर्यमुखी फक्राउनु
वा, हिउँका पहाडहरू खोतलेर
यारचागुन्भुको जोहो गर्नु हो रहेछ
ऊ यतिखेर
शरीरका औँला हिउँलाई चढाएर
यारचागुन्भु खल्तीमा हाल्दै मक्ख परिरहेछ

सधैँ सुकिलो जून पलाउँछ मनमा गधाहरूको
फूलेका होलान् कति धेरै सूर्यमुखीहरू
खच्चर र घोडाका मनहरूमा
उचाल्नु उनीहरूको अन्तिम लक्ष
गति अन्तिम गन्तव्य
चरनहरूसँग लोभिएर पसिना काड्नु
र, भारी बिसाएर चरन फाँड्नु
एउटा तरुनी दैनिकी
गधा, घोडा वा खच्चर हुनु राम्रो कि मान्छे
बेला–बेलामा
ऊ यस्तै चिन्तनमा अल्झिने गर्छ

आफ्नो बुइ चढ्ने
हरेकले भुइँ छोडेको
कुहिरो पन्छाउँदै
निरन्तर हेरिरहेछ उसले
उचाइतिर ।

सिमकोट, हुम्ला

२०६५ भदौ २६