आत्मानुभूति ————

लेखाजोखा न्युज
१७ बैशाख २०७८, शुक्रबार १४:१४

साँझ पर्दै गएको छ, ढल्न थाल्यो उमेर यो।

अभिलाषा अंझै धेरै,बाँकी छन्,तर बेर भो ।१।

वाल्यावस्था गयो खेर, खेलमै दिन गुज्रिए।

खेलकै योजनामा नै, सुत्दै, उठ्दै त्यसै गए।२।

न कुनै कामको चिन्ता, न कुनै जिम्मेवारी नै।

न कसै संग जित्नु नै, न हराउनु नै कसै ।३।

खायो खेल्यो सुत्यो भै गो,काम यत्ति थियो तब।

दौतेरी मै रमाएर, काल बित्थ्यो सधैं तब।४।

क्रमश: हुर्कदै जाँदा, पढाई पनि चालु भो ।

ज्ञान विज्ञानको भाषा, त्यत्तिकै बुझिने भयो । ५।

आफ्नो यौवनको बेला, सिक्ने हो ज्ञानका कुरा।

तर त्यो कीमती बेला, सुत्दै घुम्दै भयो पुरा । ६।

सिक्ने कुरा थिए धेरै, ध्यान अन्तै गयो तर ।

हराई जोशमा होश,गयो आर्कै दिशा तिर । ७।

‘म को हूं’, किन यो मेरो जन्म संसारमा भयो ?

‘के हो जीवनको ध्येय’, कसरी प्राप्त गर्नु हो ? ८।

कहाँ देखी म आएको, कहिले सम्म बस्नु हो ?

मृत्यु पश्चात् अंझै फेरी, कहाँ फर्केर जानु हो ? ९।

के हो जीवनको लक्ष्य, के हो जीवनको सुख ?

के हो जीवनको प्राप्ति, के हो जीवनको दु:ख ? १०

। कहाँ गएर टुंगिन्छ, यात्रा जीवन-मार्गको ?

कहाँ गएर छुट्टिन्छ, बाटो धर्म, अधर्मको ? ११।

कस्को संकेतमा चल्छ, हाम्रो जीवनको रथ ?

कस्को आदेशमा रुक्छ, श्वास- प्रश्वास वाहक ? १२।

जन्म, मृत्यु, जरा, व्याधि, दु:ख, शोक,शुभाशुभ।

किन जीवनसंगै यी, जोड़िन्छन्, अनिवार्यत: ? १३।

सृष्टि रचयिताले नै, किन सृष्टि सकाउँछ ?

किन निर्माणकर्ता नै, स्वयं विध्वंश गर्दछ ? १४।

आत्माको परमात्माको,के हो सम्बन्ध-सूत्र यो ?

के हो प्रारब्ध या भाग्य, कस्ले निर्माण गर्छ यो ? १५।

कसरी मोक्ष पाईन्छ, कसरी हुन्छ, सद्गति ?

कसरी तृप्त हुन्छन् यी, कामना मनका यति ? १६।

अज्ञानी मनमा यस्तै, अनेकौं प्रश्न उठ्दछन्।

फोका झैं पानीका यस्तै, जन्मिन्छन् अनि फुट्दछन् ।१७।

न रह्यो अब त्यो काल,न धेरै अब काल छ।

अशान्त मनमा आज, पछुतो मात्र बाँकी छ ।१८।

-डा• टेकराज पन्त