बझाङको थलारामा सुख्खा खडेरीले ९३.२५ प्रतिशत नगदेवालीमा क्षति

लेखाजोखा न्युज
१६ बैशाख २०७८, बिहीबार १७:५६

प्रदिप मलासी

बझाङ । बझाङको थलारा गाउँपालिकामा यस वर्ष सुख्खा खडेरीले नगदेवालीमा ९३.२५ प्रतिशत क्षति भएको सूचना संकलन टोलीको तथ्यांकले देखाएको छ ।

सुख्खा खडेरीले थलारा गाउँपालिका वडा नम्बर १, २,३, र ४ मा ९३.२५ प्रतिशत ह्रास आएको सूचना संकलन गर्ने हिँडेको टोलीले बताएको छ ।

सूचना संकलन गर्न हिँडेको टोलीले थलारा गाउँपालिका वडा नं १ को थापागाउँका ३० वडा नं २ बगाडाका ३४ वडा नं ३ धामीगाउँका ३९ र वडा नं ४ डिख्लाका ८२ गरि १ सय ८२ घरधुरीको सूचना संकलन गरिएको सुदूरपश्चिम खाद्य अधिकार संजालका संयोजक बल बहादुर रोकायाले बताउनुभयो ।

सूचना संकलन गर्दा अन्तरक्रिया समेत गरिएको थियोे । अन्तरक्रियामा स्थानीयले उत्पादन नहुँदा यो वर्ष भोकमरी हुने हुँदा तत्काल सरकारले राहतको व्यवस्था गरिदिनुपर्ने सुफथ मुल्यमा खाद्य सामाग्री उपलब्ध गरिदिनुपर्ने र आगामी खेतीका लागि बीउसमेत नरहेकाले निःशुल्क गहुँको बीउ उपलब्ध गराइदिन माग गरेका छन् । खडेरीले पानीको मुहान समेत सुक्दै गएको उनीहरूको गुनासो रहेको बझाङ जिल्ला खाद्य अधिकार संजालका संयोजक जगदीश रोकायाले बताए ।

यो वर्ष लामो खडेरी परेका कारणले सबैतिर अन्नबालीमा ह्रास आएको भएपनि थलाराका वडा नं १,२,३, र ४ का बस्तीहरूमा बढी प्रभाव परेको छ । ती क्षेत्रमा आकाशे पानीको भरमा खेती गरिने हुँदा ज्यादा प्रभाव परेको हो ।

सूचना संकलन टोलीमा सुदूरपश्चिम खाद्य अधिकार संजालका संयोजक बल बहादुर रोकाया, बझाङ जिल्ला खाद्य अधिकार संजालका संयोजक जगदीश रोकाया ,थलारा एफएमका प्रबन्ध निर्देशक पदम खडका रहेका छन।