स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन मन्त्रालयको निर्देशन

लेखाजोखा न्युज
१५ बैशाख २०७८, बुधबार ०७:३२

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले आकस्मिक उपचार बाहेकका बहिरङ्ग सेवा र अति आवश्यक बाहेकका शल्यक्रिया नगर्न देशभरका अस्पतालहरूलाई निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमितहरूलाई आवश्यक पर्ने शय्या उपलब्ध गराउनु पर्ने भन्दै यस्तो निर्देशन भएको हो।

जसअनुसार आकस्मिक उपचार बाहेकका बहिरङ्ग सेवा र अति आवश्यक बाहेकका शल्यक्रिया नगर्न, स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन तथा बिदामा बसेको भए बोलाउन निर्देशनमा भनिएको छ ।

यसै गरी कार्यरत जनशक्तिलाई आलोपालो प्रणाली निर्धारण गरी सेवा दिन, दरबन्दी कम भएर थप गर्नु पर्ने भएमा ६ महिनाका लागि करारमा लिन, दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले मङ्गलवार अस्पतालहरूलाई पत्र पठाउँदै कोभिड १९ को सङ्क्रमण तीव्र गतिमा बढ्दै गएका कारण स्वास्थ्य उपचारमा खटिनु पर्ने भएकाले यस्तो निर्देशन गरिएको जनाएको छ ।