चितवनका अस्पताल बिरामीले भरिए, बेडको हुनथाल्यो अभाव

लेखाजोखा न्युज
१५ बैशाख २०७८, बुधबार ०७:२७

काठमाडौं, चितवनका अस्पतालमा कोरोना भाईरस (कोभिड–१९)का बिरामी ह्वात्तै बढेका छन् ।

चितवन सहित देशभरका जिल्लामा कोरोना संक्रमितको संख्या बढेसंगै जिल्लाका अस्पतालमा बिरामीको संख्या ह्वातै बढेको हो ।

“चैत महिनासम्म भरतपुर अस्पतालमा कोभिड–१९का एक जना पनि थिएन् । त्यतिखेर कोभिड वार्ड बनाएको हाडजोर्नि रोग विभाग पनि सञ्चालन गरेका थियौँ”, भरतपुर अस्पतालका प्रवक्ता युवानिधि बर्सौलाले भने, “एक साता भयो भरतपुर अस्पतालमा औषतमा दैनीक ७ देखि १३ जनासम्म कोभिड–१९का बिरामी भर्ना हुन्छन् ।” उनका अनुसार, भरतपुर अस्पतालमा पछिल्लो २४ घण्टामा १३ जना कोभिड–१९का बिरामी भर्ना भएका छन् ।” अहिले चितवनका विभिन्न अस्पतालमा ९२ जना कोभिड–१९का बिरामी भर्ना भएका छन् । यी मध्ये अधिकांश बाहिरी जिल्लाका छन् ।

चितवनका ३७ जना अस्पताल भर्ना हुँदा बाहिरी जिल्लाका ५५ जना छन् । भरतपुर अस्पतालका प्रवक्ता बर्सौलाका अनुसार, अस्पतालमा बाँकेबाट पनि उपचार गराउन आएका छन् । अहिलेसम्म भरतपुर अस्पतालमा मात्रै ४८ जनाको उपचार भइरहेको छ । त्यसमध्ये, भेन्टिलेटरमा २, एच.एस.एन.केमा २, आसियूमा ९, एचडीयूमा १२ र सामान्य वार्डमा २५ जना छन् ।

भर्ना भएका मध्ये अधिकांशको अवस्था गम्भीर रहेको उनले बताए । “सिरियस नभै अहिले मानिसहरु अस्पताल नै आउन छाडे । आएकामा समस्या नै देखिएको छ, उनले भने, दुई दिनको बीचमा चार जनाको मृत्यु भैसक्यो ।” अहिले भरतपुर अस्पतालमा चितवन, बाँके, नवलपुर, तनहुँ, गोरखा, हेटौँडा, वीरगञ्जसम्मका बिरामी छन् । बाँकेमा बिरामीको चाप बढ्दै गएपछि भरतपुरमा रिफर गर्ने गरेको बर्सौलाले बताए ।

बिरामी बढ्न थालेपछि जनशक्तिको अभाव समेत हुने उनले बताए । “अहिले हाम्रो जनशक्तिले बिरामीको उपचार गर्न सकेको छ । यही हिसाबले बढ्यो भने नर्स र चिकित्सकको अभाव हुन्छ ।” उनले भने, “त्यसका लागि बेलैमा सरकारले सोच्न आवश्यक छ ।” भरतपुर अस्पतालले कोभिड–१९का बिरामीलाई भनेर १ सय १० बेड छुट्टाएको छ । अस्पतालले विरामीलाई आवश्यक पर्ने अक्सिजनको समेत व्यवस्था गरेको उनले बताए । “हाम्रो अक्सिजन प्लान्ट नै छ । ठुलो सिलिण्डर ५४ वटा छन् ।

मध्यम र सानो गरि २३ वटा ब्याकपमा राख्दछौँ”, उनले भने, “अझै २५ वटा अक्सिजनका ठुला सिलिण्डर थप गर्दै छौँ ।” चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा गरि ८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । चितवन मेडिकल कलेजमा रहेका मध्ये ८ जनाको अवस्था गम्भीर रहेको कलेजले जनाएको छ । “हाम्रोमा २५ जना कोभिडका बिरामी हुनुहुन्छ भेन्टिलेटरमा २, आसियूमा ६, हाईफ्लो नेजर क्यानिलरमा ४ जना र सामान्य वार्डमा १३ जना हुनुहुन्छ ।” चितवन मेडिकल कलेजका सुचना कोडिनेटर डा.किसोर अधिकारले भन्नुभयो, “त्यसमध्ये ८ जनाको अवस्था गम्भिर नै छ ।

” चितवन मेडिकल कलेजले कोभिडको उपचार गर्नका लागि ८४ वटा शैया छुट्टाएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा पनि कोरोनाका बिरामी थपिदै गएका छन् । कलेजका जनसम्पर्क व्यक्ति दुर्गा न्यौपानेका अनुसार, पछिल्ला एक सातामा आईसियूमा ६ र एचडियूमा ४ जना बिरामी भर्ना भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार, जिल्लामा २ सय ९० शैया छुट्टाईएको छ । शैयालाई तयारी अवस्थामा राख्न अस्पतालहरुलाई निर्देशन दिईएको कार्यालय प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक तिवारीले जानकारी दिए । जिल्लामा शैया बढि भएपनि गम्भिर बिरामीलाई उपचार गर्ने शैयाको भने कमी छ । जिल्लामा कोभिडका लागि भनेर ४५ वटा मात्र आसियू छुट्टाईएको छ । तर, आवश्यक अनुसार क्षमता बढाउन अस्पतालहरुलाई निर्देशन दिईएको तिवारीले बताए ।

अहिले जिल्लामा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजले उपचार गराईरहेका छन् । तर, अन्य साना अस्पताललाई उपचारका क्रममा कोभिड–१९ पत्ता लागेमा आफै उपचार गर्नुपर्ने उनले बताए । रिफर गर्न परेमा बिरामीका आफन्त संग परामर्श लिएर मात्र गराउनुपर्ने उनको भनाई छ