५ असोज २०८०, शुक्रबार

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

लेखाजोखा न्यूज

२६ जेष्ठ २०८०, शुक्रबार १०:४९

बागलुङ ।  जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन्।

कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ। कारागारमा हाल एक सय ५४ पुरुष कैदीबन्दी, १० महिला कैदीबन्दी र दुई नाबालिका रहेका छन्। कारागारमा ठाउँ अभावले महिलाभन्दा पुरुष कैदीबन्दीलाई बढी समस्या भएको जिल्ला कारागार बागलुङ कार्यालय प्रमुख डिलबहादुर केसीले बताए। ‘पुरुष कैदीबन्दीलाई सुत्न समस्या भएको छ’, उनले भने।

उनीहरू ठाउँ अभावले कोचाकोच गरेर सुत्न बाध्य छन्। महिला कैदीबन्दीलाई भने हाल समस्या छैन। कारागारमा खानेपानीको समस्या समाधानका लागि खानेपानी आयोजना अघि बढाइएको केसीले बताए। तित्याङबाट यहाँ खानेपानी ल्याइँदै छ। यसका लागि २० लाख रुपैयाँ बजेट स्वीकृत भएको छ।

बागलुङ नगरपालिका–९ तित्याङस्थित रिठेखोलाको पानी बागलुङ कारागारमा ल्याउन सरसफाइ तथा खानेपानी डिभिजन कार्यालयले काम गरिरहेको छ। असार मसान्तभित्र कारागारमा मूलको पानी पुग्ने केसीले बताए। खानेपानी अभाव हुँदा कैदीबन्दीलाई सरसफाइ गर्न समस्या थियो। रासस

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend