५ असोज २०८०, शुक्रबार

संयुक्त राष्ट्रसङ्घको आर्थिक परिषद् सदस्यमा नेपाल निर्वाचित

लेखाजोखा न्यूज

२६ जेष्ठ २०८०, शुक्रबार १०:२५

काठमाडाैं । संयुक्त राष्ट्र संघ (यूएन) को आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा नेपाल निर्वाचित भएको छ ।

एसिया–प्रशान्त क्षेत्रबाट नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको हो ।

बिहीबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भएको मतदानमा नेपाल एक सय ४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशहरूको समूहमा सर्वाधिक मतका साथ विजयी भएको हो । राष्ट्रसङ्घको वडापत्र १९४५ अनुसार छ मुख्य परिषदमा आर्थिक तथा सामाजिक परिषद् एक हो, यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उचो बनाएको छ ।

बिहीबारको मतदानमा कुल १८ देश सदस्यमा निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने देशमा फ्रान्स, जर्मनी, स्पेन, बेलायत, पोल्याण्डलगायत छन् । तीनवर्षे कार्यकालका लागि आगामी २०२४ को जनवरीबाट यी नयाँ सदस्य राष्ट्रले काम गर्नेछन् ।

नेपाल सन् २०२६ देखि मध्यमस्तरको विकासशील राष्ट्रका रूपमा स्तरोन्नति हुनका लागि रणनीतिकरूपमा अगाडि बढिरहेको परिप्रेक्ष्यमा आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित हुनु महत्त्वपूर्ण उपलब्धि हो । यस परिषद्ले विश्वभरिका नागरिकको आर्थिक, सामाजिक अवस्थाका बारेमा सुधार गर्दै सहश्राब्दी विकास लक्ष्य हासिलका लागि विभिन्न कार्यक्रमसमेत अगाडि सारेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend