५ असोज २०८०, शुक्रबार

‘लु’ चल्ने क्रम थप उच्च

लेखाजोखा न्यूज

२६ जेष्ठ २०८०, शुक्रबार ७:४६

काठमाडौं। मनसुन भित्रिन ढिला हुँदा नेपालको तराईमा तातो हावाको बहाव अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ ।

नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवनमा गम्भीर असर पर्न थालेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आउँदो चार दिनसम्म तातो हावा तथा लुको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तातो हावा तथा लुबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने देखिएको छ ।

महाशाखाले तातो हावा तथा लुबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्न, बाहिरी वातावरणमा बढी नजान, हलुका सुती कपडा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन सुझाव दिएको छ । साथै नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका दुई र पूर्वका तीन जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको छ । ती जिल्लामा ४१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । पाँच जिल्लामा तापक्रमको सतर्कता तहको अवस्थामा रहेको छ । सबैभन्दा बढी जनकपुर, विराटनगर, भैरहवा, सिमरा र नेपालगन्जमा वृद्धि भएको देखिएको छ । मोरङको कानेपोखरी गाउँपालिकाको तापक्रम मापक यन्त्रले बिहीबार ४४ डिग्री सेल्सियस तापक्रम मापन गरेको गाउँपालिकाले उल्लेख गरेको छ ।

बङ्गालको खाडीबाट मनसुनी न्यूनचापीय रेखा भारतको केरलामा बिहीबार आइपुगेको छ । त्यहाँबाट मनसुनी जलवाष्प नेपाल आउन करिब एक साता लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  “केरला आएको मनसुनी न्यूनचापीय रेखा छिटो गरी आउँछ वा ढिला यात्रा गर्छ भन्ने अर्को मापदण्ड पर्ख र हेरकै अवस्था छ ” मौसमविद् सञ्जीव अधिकारीले भने  ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend