५ असोज २०८०, शुक्रबार

आरडी प्रभास चटौतको अभिनन्दन ग्रन्थ लोकार्पण

लेखाजोखा न्यूज

२१ जेष्ठ २०८०, आइतबार ७:३६

काठमाडौं ।  नेपाली वाङ्मयका अथक साधक भाषासेवी प्राज्ञ आरडी प्रभास चटौतबारे लेखिएको ‘आरडी प्रभास चटौत अभिनन्दन ग्रन्थ’ लोकार्पण गरिएको छ । एनडी प्रकास चटौत स्मृति प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र वरिष्ठ साहित्यकारले संयुक्त रुपमा उक्त कृति सार्वजनिक गरेका हुन् ।

पुस्तकमा नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा चटौतले पुर्‍याएको योगदान र व्यक्तित्वबारे समाजका विभिन्न विधामा ख्याति कमाएका विद्वान विदुषिका धारणा समेटिएको छ । पुस्तकमा वरिष्ठ कवि एवं साहित्यकार केदारनाथ व्यथित, माधवप्रसाद घिमिरे, मोहन कोइराला, इश्वर बल्लभ, चूडामणि बन्धु, तारानाथ शर्मा, भुवन ढुङगाना, प्राध्यापक आनन्ददेव भट्ट, प्रा डा खगेन्द्र लुइँटेल, प्रा डा माधवप्रसाद पोखरेल, प्रा महादेव अवस्थी, सिद्धिचरण श्रेष्ठ, प्रा शिवगोपाल रिसाल, सूर्यविक्रम ज्ञावली र रमा शर्माबाट विभिन्न अवसरमा प्रदान गरेको शुभकामना सन्देश तथा धारणा समावेश छन् ।

विसं २००६ बाट नेपाली साहित्यको उन्नयनमा निरन्तर अतुलनीय योगदान दिँदै आएका श्रष्टा चटौत आजै ८८ वर्ष प्रवेश गरेकाले उनलाई कार्यक्रममा अभिनन्दनसमेत गरियो । पुस्तकमा उनले सुदूरपश्चिमको डोटी क्षेत्रका चारपुस्ता अघिदेखिका भाषा, साहित्य र संस्कृतिसम्बन्धी सङ्कलन गरिएका तथ्य एवं तथ्याङ्क प्रस्तुत गरेका थिए ।

डा पुष्पराज भट्ट प्रधान सम्पादक रहेको उक्त कृतिमा एक सय ७८ लेख समेटिएका छन् । पुस्तक लोकार्पण गर्दै आयोगका अध्यक्ष मगरले अहिलेको भौतिकवादी संसारमा हराइरहेका भाषा, साहित्य, संस्कृति र शब्दको कसरी जगेर्ना गर्नुपर्छ भन्ने सन्देश पुस्तकबाट प्राप्त भएको बताए ।

उनले भने, “कवि र साहित्यकारले आफूले चाहेअनुसारको काव्य संसार निर्माण गर्छन, आध्यात्मले पुनःजीवनको कल्पना गरे पनि विज्ञानवादीले पुनःजीवनलाई स्वीकार्दैन ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend