काठमाडौं । जिम्बाब्वेमा हुने विश्वकप छनोटको अन्तिम तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्यहाँ स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग दुई अभ्यास खेल खेल्ने भएको छ ।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजानिक गरेको खेल तालिकाअनुसार नेपालले जुन ८ मा स्कटल्यान्ड र जुन १० मा नेदरल्यान्डसँग दोस्रो अभ्यास खेल खेल्नेछ । त्यसअघि, बुधबार दक्षिण अफ्रिका पुगेको नेपाली टीमले जुन १ देखि ७ सम्म त्यही अभ्यास गर्नेछ ।
दक्षिण अफ्रिकाको भ्रमण सकेर नेपालले जुन १८ देखि ९ जुलाईसम्म जिम्बाबेमा हुने विश्वकप छनोट खेल्न जानेछ ।
नेपालले विश्वकप छनोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्नेछ ।
पहिलो वार्म अप युनाइटेड अरब इमिरेट्स (यूएई) सँग जुन १३ मा र दोस्रो जुन १५ मा ओमानविरुद्ध खेल्नेछ । विश्वकप छनोटअघि नेपालले मात्रै टेस्ट राष्ट्रसँग वामअर्प म्याच खेल्न पाएन ।
आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’ मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बावेविरुद्ध खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ । यस्तै, जुन २० मा नेपालले अमेरिका, जुन २२ मा वेस्ट इन्डिज र जुन २४ मा नेदरल्यान्ड्ससंग समूह चरणको अन्तिम खेल खेल्नेछ ।
छनोटमा १० राष्ट्रले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र यूएई छन् ।
प्रत्येक समूहबाट शीर्ष तीन टीमले सुपर सिक्सम स्थान बनाउनेछ्न् र दुई टीमले विश्वकपमा स्थान बनाउनेछन् ।