काठकाडाैं । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै नेकपा एमालेले विराेध जनाएकाे छ ।
एमालेले सार्वभौम संसद्को अधिकार छलेर गलत तरिकाले नागरिकता विधेयक प्रमाणीकरण भएको भन्दै आपत्ति जनाएको हो ।
एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नागरिकता विधेयक प्रमाणीकरण हुँदा जनताको अधिकार छलेको टिप्पणी गरेका हुन्।
‘नागरिकता विधेयक जारी गर्न ढिलाइ भयो, अति आवश्यक पनि थियो,’ उनले भने, ‘तर अहिले जसरी, जुन बाटोबाट आएको छ, यो ठीक भएन। यो उल्टो बाटो भयो।’
उनले विधेयकलाई संसदमा ल्याएर पारित गरेर प्रमाणीकरणका लागि पठाएको भए विधिसम्मत हुने बताउँदै हिजो असंवैधानिक भयो भन्नेहरू नै आज उल्टो बाटो हिँडेको टिप्पणी गरे।
‘हिजो नै उहाँहरूले राष्ट्रपतिले समय नघाइदिनुभयो, असंवैधानिक भयो भन्नु भएको होइन, आज कसरी त्यो समय जोडियो, कि मन्त्रिपरिषद्ले जोडिदियो? मन्त्रिपरिषद्ले त्यसो गर्न सक्छ?,’ उनले भने, ‘त्यसकारण हामी भनिरहेका छौं, यो प्रक्रिया गलत भयो।’
उनले संविधानले दिएको समयसीमाभित्र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगर्दा समयसीमा उल्लंघन भयो भनेर प्रश्न उठाइएको भन्दै त्यही प्रश्न उठाउनेहरुले कसरी अहिलेको राष्ट्रपतिलाई प्रमाणीकरण गराउनुभयो भनेर प्रश्न समेत गरे ।
‘र, जहाँसम्म नागरिकता विधेयक मन्त्रिपरिषद्ले सिफारिस गर्यो भन्ने कुरा छ यो विषय त मन्त्रिपरिषद्ले पठाउने विषय नै होइन, संसद्ले पठाउने हो । मन्त्रिपरिषद्ले निर्णय गर्दा नाघेको समयसीमा भनिएको अवस्थामा यो पटक सरकारले निर्णय गर्दा त्यो नाघेको समयसीमा जोडिन्छ ? मुख्य प्रश्न यो हो’, उनले थप भने, ‘त्यसैले यसमा गम्भीर गल्ती भएको छ । कमजोरी भएको छ, संविधान र कानुनविपरीत भएको छ ।