५ असोज २०८०, शुक्रबार

सरकारले हाकाहाकी ढाँट्यो, यसको ठूलो मूल्य चुकाउनुपर्ने महावीर पुनकाे चेतावनी

लेखाजोखा न्यूज

१६ जेष्ठ २०८०, मंगलबार ३:३७

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आविष्कार तथा नवप्रवर्तन (स्टार्ट अप)का लागि कुल विकास बजेटको एक प्रतिशत रकम छुट्याउने भनेर सरकारले ढाँटेको आरोप लगाएका छन् ।

सरकार र पुनबीच गत १८ वैशाखमा अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउने सहमति भएको थियो । तर सरकारले आविष्कार र नवप्रर्तनका लागि १ अर्ब रुपैयाँ मात्र छुट्याएको भन्दै पुनले सरकारलाई यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन् ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ विकास निर्माणका लागि छुट्याएको उल्लेख छ । आफूसँग भएको सहमति अनुसार सरकारले आविष्कार र नवप्रवर्तनका लागि ३ अर्ब २ करोड रुपैयाँ छुट्याउनुपर्ने पुनको भनाई छ ।

पुनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘बजेटमा छुट्याइएको पुँजीगत खर्च ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँको १ प्रतिशत भनेको ३ अर्ब २ करोड ७० लाख रुपैयाँ हुन्छ । कसरी एक अर्ब रुपैयाँ निकालियो ? यसरी हाकाहाकी ढाँट्ने काम नगरौं !’

अर्थमन्त्री महतले विकास बजेटको १ प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्याउने नीति लिने वजेट वक्तव्यमा उल्लेख गरेका छन् । तर अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब रुपैयाँ विनियोजन गरेका छन् ।

वजेट वक्तव्यमा भनिएको छ, ‘कोष सञ्चालन गर्न आवश्यक कानून तर्जुमा गरिनेछ । सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रर्वतन र आविष्कारसम्बन्धी कार्यक्रमलाई यसमा आवद्ध गर्दै लगिनेछ ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend