२६ जेष्ठ २०८०, शुक्रबार

व्यास नगरपालिकामा ५६ प्रतिशत योजना कार्यान्वयन

लेखाजोखा न्यूज

१३ जेष्ठ २०८०, शनिबार ९:३२

तनहुँ । तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्षमा ५६ प्रतिशत योजना सम्पन्न गरेको छ ।

चालू आर्थिक वर्ष २०७९/८० मा १ हजार २४५ योजना रहेकोमा ६९५ योजना सम्पन्न भएका नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

नगर प्रमुख न्यौपानेका अनुसार यस अवधिमा ४४४ योजना सम्झौता भएका, १०३ योजना सम्झौता हुन बाँकी रहेका र ४ सूचना प्रकाशनमा गएको छ ।

न्यौपानेले भने, ‘यो १ वर्षको अवधिमा ५६ प्रतिशत योजना सम्पन्न भइसकेको छ भने ३६ प्रतिशत योजना सम्झौता भई ९ प्रतिशत योजना सम्झौता हुन बाँकी छ ।’

यो अवधिमा पूर्वाधारतर्फ केही महत्त्वपूर्ण कार्य भएको नगर प्रमुख न्यौपानेले जानकारी दिए । गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा दमौली केशवटार मार्ग कालोपत्र गर्न १ करोड ३० लाखको योजना निर्माण प्रक्रियामा रहेको छ । संघ सरकारसँगको समपूरक योजनाअन्तर्गत खड्गकाली मार्ग कालोपत्र थप निर्माणका लागि टेन्डर भएको न्यौपानेले बताए ।

विश्व बैंकको सहयोगमा नेपाल सहरी शासकीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत परासर मार्ग (घाँसीकुवा–फराकचौर–पोख्रेलफाँट–माँझफाट–नरंगा–कलेस्ती) विस्तृत परियोजना प्रतिदेन पुनरावलोकन भइरहेको उनले बताए ।

यही अवधिमा वडा नम्बर ६, १३ र १४ को सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण शुरू भएको जनाइएको छ । नगरपालिकाले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको १ वर्षको अवधिमा व्यास–११ पोल्याङमा शीतभण्डार निर्माण कार्यसम्पन्न भएको, व्यास–१० वैरेनीमा एकीकृत जग्गा विकास आयोजनाका लागि नगर विकास कोषसँग जग्गा सम्झौता भई पूर्वाधार निर्माणका लागि जग्गा सम्याउने कार्य भइरहेकालाई मुख्य उपलब्धिका रूपमा मानेको छ ।

संघ सरकारसँगको विशेष योजनाअन्तर्गत व्यास–५ मानुङकोट लिफ्टिङ खानेपानी आयोजना, व्यास–१४ केशवटार लिफ्टिङ खानेपानी योजना, (गजौडे पुल) को २ अर्ब ८२ करोडको टेन्डर प्रक्रिया अगाडि बढेको नगर प्रमुख न्यौपानेले जानकारी दिए ।

शिवपञ्चायन क्षेत्रमा १०० फिट उचाइको व्यास मूर्ति निर्माण कार्य, व्यास–३ बीपी वनवाटिका खेलमैदान, व्यास–११ कोलढुंगा क्रिकेट मैदान, व्यास–५ परासर खेलमैदान र चिन्तुटार खेल मैदान लगायत खेलमैदान निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend