काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गरेको अवरोधले सरकारका नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम प्रभावित हुने भएसँगै तीन ठूला दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ , एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको छ ।
सदन अवरोध हटाउनेबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्ण बहादुर खड्का , एमाले नेता पदम गिरी र कांग्रेस नेता रमेश लेखक सहभागी छन् ।
संसदको अवरोध खुलाउन प्रमुख सचेतकको तहमा शुक्रवार दिनभर भएको प्रयास विफल भएपछि प्रधानमन्त्री स्वयंले अग्रसरता लिएका हुन् ।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा सुनको जलहरी राख्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट घोटाला भएको भन्ने खालको अभिव्यक्ति दिएको विरोधमा एमालेले शुक्रवार प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको थियो ।
जेठ १५ गते संघीय संसदमा वार्षिक बजेट आउनु अघि संसदबाट सरकारका नीति तथा कार्यक्रम पारित गर्नुपर्ने संवैधानिक दायित्व छ। सरकारका नीति तथा कार्यक्रम फेल भए सरकार ढलेको मानिने संसदीय बुझाइ रहन्छ ।
प्रतिपक्षी दलले सानो निहुँमा संसदको अवरोध कायम राखे विरोधकाबीच पारित गर्ने सत्तापक्षको तयारी छ ।
शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम भएपनि प्रमुख प्रतिपक्षी दल एमालेकाे संसद्मा अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगन भएको थियो।
सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्ने कार्यतालिका छ ।