२६ जेष्ठ २०८०, शुक्रबार

संसदको गतिरोध हटाउन एमालेसँग प्रधानमन्त्रीकाे वार्ता जारी

लेखाजोखा न्यूज

१३ जेष्ठ २०८०, शनिबार ९:१४

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गरेको अवरोधले सरकारका नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम प्रभावित हुने भएसँगै तीन ठूला दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा एमालेको तर्फबाट अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी सहभागी छन् ।

संसदको अवरोध खुलाउन प्रमुख सचेतकको तहमा शुक्रवार दिनभर भएको प्रयास विफल भएपछि प्रधानमन्त्री स्वयंले अग्रसरता लिएका हुन् । प्रधानमन्त्रीले वार्ताका लागि बोलाएका हुन्।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक उपस्थित छन् । माओवादी केन्द्रको तर्फबाट भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे छलफलमा सहभागी छन् ।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा सुनको जलहरी राख्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट घोटाला भएको भन्ने खालको अभिव्यक्ति दिएको विरोधमा एमालेले शुक्रवार प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको थियो ।

जेठ १५ गते संघीय संसदमा वार्षिक बजेट आउनु अघि संसदबाट सरकारका नीति तथा कार्यक्रम पारित गर्नुपर्ने संवैधानिक दायित्व छ। सरकारका नीति तथा कार्यक्रम फेल भए सरकार ढलेको मानिने संसदीय बुझाइ रहन्छ ।

प्रतिपक्षी दलले सानो निहुँमा संसदको अवरोध कायम राखे विरोधकाबीच पारित गर्ने सत्तापक्षको तयारी छ ।

शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम भएपनि प्रमुख प्रतिपक्षी दल एमालेकाे संसद्‌मा अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगन भएको थियो।

सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्ने कार्यतालिका छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend