काठमाडौं । नयाँ हवाई मार्ग र प्रवेश विन्दुबारे छलफल गर्न भारत गएको नेपालकाे सरकारी टोली निराश भएर फर्किएको छ ।
भारतले पुरानै शैलीमा ‘हेरौंला र प्रक्रियामा छौं,’ भन्नेजस्ता जवाफमै वार्ता सकाएपछि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको भारत भ्रमणअघि नयाँ एयर रुटको विषय टुंगो लगाउने नेपालको प्रयास असफल भएको हो ।
१७ जेठदेखि हुने प्रधानमन्त्रीको पुष्पकमल दहाल प्रचण्डको भारत भ्रमणभन्दा अघि भारत पुगेर सहमति गर्दै नयाँ एयर रुटलाई प्रधानमन्त्री भ्रमणको एजेन्डा बनाउन खोजिएको थियो ।
तर, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल भारतमा गरिएका छलफलहरु निष्कर्षमा नपुर्याइ फर्किनु परेको छ । भ्रमण टोलीमा सहभागी एक अधिकारीका अनुसार वार्तामा भारतले आफ्ना चासोहरु व्यक्त गरेपनि कुनै औपचारिक समझदारी गर्न चाहेन ।
‘नमिलेका विषयहरु टुंग्याउन कुनै समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएन,’ प्राधिकरण स्रोतले भन्यो,‘भैहरवा र पोखरालाई सहज हुने रुट दिनेबारे भारतीय उदाशीनता फेरि प्रष्ट भयो, हामी रित्तै हात फर्कियाैं । ’
नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट प्रवेश विन्दुसहित एयर रुट माग गर्दै आएको छ । भारतले नेपालबाट उड्ने विमानलाई महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट आफ्नो आकाशमा प्रवेश गर्न रुट खुला राखेको छ । ती विन्दुबाट नेपाल प्रवेश गर्ने अनुमति दिन भने वर्षौंदेखि आनाकानी गरिरहेको छ ।
नेपालले लामो सयमदेखि पश्चिम नेपालका भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरका हवाई प्रवेश विन्दु र रुट दिन भारतलाई आग्रह गर्दै आएको छ । ३२ अर्बभन्दा बढी लागतको भैरहवा विमानस्थल र महँगो चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पश्चिम नेपालका हवाई प्रवेश विन्दुसहितका रुट अत्यावश्यक छ । भारतले पश्चिमबाट एयर रुट दिए यो विमानस्थलमा उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु आकर्षित ती विमानस्थलका अधिकारीहरु बताउँछन् ।
तर, भारतले नयाँ एयर रुट दिन आनाकानी गर्ने क्रम ७ वर्षदेखि जारी छ । नेपाली पक्षको मागअनुसार २०७३ पुसमा हवाई प्रवेश विन्दु सम्बन्धी कोलकाता बैठक भएको थियो, जुन बिना निस्कर्ष टुंगिएको थियो । त्यसपछि २०७४ असोजमा बस्ने भनिएको बैठकमा निर्वाचन आचारसंहिताका कारण नेपाली टोली जान सकेन ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ चैतमा भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग यो विषय उठाएका थिए । त्यसकै आधारमा २ असार २०७५ मा नेपाल नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं–विराटनगर र काठमाडौं–जनकपुर रुटलाई दुईतर्फी बनाउने र अन्तर्राष्ट्रिय विमानका लागि पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई रुटसहित प्रवेशमार्ग दिने सम्बन्धमा विस्तृत प्राविधिक अध्ययन मूल्यांकन सक्ने सहमति भएको थियो । त्यसअनुसार उडान सुरक्षा मूल्यांकन टुंगो लगाउन नेपाली टोली दिल्ली पुग्दा एयरपोर्ट अथोरिटी अफ इन्डिया हवाई रुट थप्ने सहमतिबाट एकाएकपछि हटेको थियो ।