१६ जेष्ठ २०८०, मंगलबार

यसरी भएको थियो जलहरीमा करोडौं हिनामिना

लेखाजोखा न्यूज

१३ जेष्ठ २०८०, शनिबार ६:४२

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव र कोषाध्यक्षको जिम्मेवारी सम्हालेका गोविन्द टण्डन पशुपतिको सम्पत्ति खाए शिवस्व लाग्ने डरले घरबाटै पानी बोकेर कार्यालय जान्थे। पशुपतिको सम्पत्तिबाट पानी पनि पिउन हुन्न भन्ने उनलाई लाग्थ्यो।

खाजा पनि घरबाटै लान्थे। यहाँसम्म कि कार्यालयको गाडीसमेत उनले चढेनन्। टण्डनले पशुपति क्षेत्र विकास कोषमा दुईपटक गरी ११ वर्ष दुई महिना पदाधिकारीका रूपमा कार्यरत रहे। तर अधिकांश समय उनले तलब भत्ता बुझेनन्।

टण्डनले शिवस्व लाग्छ भनेर तलबभत्ता नै नबुझेको थाहा पाएपछि तत्कालीन रानी ऐश्वर्य शाहले उनलाई ‘तपाईंलाई अप्ठयारो परेको होला, थोरै भए पनि तलब बु्झ्नुहोस्’भनी आग्रह गरिन्। रानीको आग्रहलाई इन्कार गर्न नसकेपछि उनले मासिक २ हजार रुपैयाँ तलब बुझ्न थाले। तर त्यसको पनि १० प्रतिशत रकम उनी विकास कोषलाई नै बुझाउँथे। टण्डन २०४४ देखि २०५० तथा २०७० देखि २०७४ सम्म ११ वर्ष २ महिना विकास कोषमा सदस्य सचिव तथा कोषाध्यक्ष भई काम गरेका थिए। ‘मैले पशुपति क्षेत्रमा काम गर्दा लामो समय तलब, भत्ता, सुविधा केही लिइनँ, यहाँसम्म कि पानी र खाजासमेत घरैबाट लगें,’ टण्डनले भने, ‘तत्कालीन महारानी ऐश्वर्यको आग्रहमा महिनाको २ हजार बुझ्न थाले। त्यसको पनि १० प्रतिशत रकम कोषलाई नै बुझाउँथें।’

पशुपतिनाथ मन्दिरको चलअचल सम्पत्ति एक रुपैयाँ पनि हिनामिना गरे शिवस्व लाग्ने टण्डनले बताए। ‘तर पुजारी तथा भण्डारीहरूले इमानदारीपूर्वक लिने तलबभत्तामा भने शिवस्व लाग्दैन,’ उनले भने। टण्डनका अनुसार शिवस्वको विषयमा धार्मिक ग्रन्थहरूमा पनि व्याख्या गरिएको छ।

‘शिवस्व लाग्नु भनेको महापाप हो,’ उनले भने। २०७७ सालमा पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा अनियमितता भएको पुष्टि भएपछि शिवस्वको प्रसंग आएको हो। त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री थिए।

तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नो पालामा पशुपतिनाथको मन्दिरको गर्भगृहमा चाँदीको जलहरीको स्थानमा सुनको जलहरी लगाउने निर्णय गरेका थिए। उक्त निर्णय कार्यान्वयन गर्र्ने विषयमा करोडौें रकम हिनामिना भएको हो। महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा यो विषय उल्लेख छ। प्रतिवेदनमा पशुपतिको गर्भगृहमा सुनको जलहरी लगाउने विषयमा अनियमिता भएको जनाइएको छ। यो विषय अख्तियारसम्म पुगेको थियो। ‘पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद गरेको छ। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ,’ प्रतिवेदनमा भनिएको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend