१६ जेष्ठ २०८०, मंगलबार

११ किलो सुन गायब काण्ड : संसदमा मुद्दा बन्यो, अख्तियारको छानबिन ‘होल्ड’

लेखाजोखा न्यूज

१३ जेष्ठ २०८०, शनिबार ६:२५

काठमडाैं । पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको विषय पुनः विवादमा आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो मुद्दा ‘होल्ड’ गर्दा जलहरी राख्दा भ्रष्टाचार भएको विषयको सत्यतथ्य खुलेको छैन ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार जलहरी बनाउँदा करिब ११ किलो सुन गायब भएको छ । त्यसको त्यतिवेलाको मूल्य करिब आठ करोड रुपैयाँ हुन आउँछ । यही मुद्दामा बिहीबार संसद् बैठक नै अवरोध भएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विवादबीच पशुपतिनाथ मन्दिरमा १२ फागुन ०७७ मा एक सय आठ किलो सुनको जलहरी अनावरण गरेकी थिइन् । करिब एक अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको जलहरी अनावरण गर्ने अन्तिम समयमा सर्वोच्च अदालतमा रिट परेपछि निर्धारित समयभन्दा तीन दिनअघि नै राष्ट्रपतिले उद्घाटन गरेकी थिइन् ।

जलहरीमा भ्रष्टाचार भएको भन्दै त्यतिवेलै विवाद भए पनि टुंगिन सकेको थिएन । निम्तिएको विवादको समयमै निरूपण नगर्दा पुनः विवादमा फसेको हो । अहिले फेरि यो विषय संसद्मा प्रवेश गरेर राजनीतिक रूप लिएको छ ।

जलहरी स्थापना गर्दा भ्रष्टाचार भएको भन्दै दुई वर्षअघि नै अख्तियारमा उजुरी परेको थियो । छानबिनका क्रममा अख्तियारले त्यतिवेलै निर्णय प्रक्रियामा संलग्न कोषका पदाधिकारी तथा कर्मचारीसँग बयान पनि लिएको थियो । तर, त्यसपछि लामो समय थप छानबिन नै नगरी अख्तियारले फाइल थन्क्याएको छ ।

राजनीतिक नेतृत्वसमेत जोडिएपछि अख्तियारले छानबिनमा आलटाल गरेको थियो । यद्यपि, यो विषय अझै पनि छानबिनकै प्रक्रियामा रहेको अख्तियारका प्रवक्ता भोला दाहाल बताउँछन् । उनी भन्छन्, ‘पशुपतिको जलहरीसम्बन्धीको उजुरी अख्तियारको छानबिनकै प्रक्रियामा छ । छानबिनको प्रक्रियामा रहेको फाइलका सम्बन्धमा थप बोल्न मिल्दैन ।’

तत्कालीन प्रधानमन्त्री केपी ओलीकै विशेष चाहनामा जलहरी राख्ने प्रक्रिया तत्कालीन सरकारले अघि बढाएको थियो । कोभिड– १९ को महामारीका वेला नागरिकलाई पिसिआर टेस्ट गर्न नसक्ने सूचना जारी गरेको सरकारले त्यतिवेला जलहरीको प्रक्रिया अघि बढाएको थियो ।

तत्कालीन प्रधानमन्त्री ओलीले १२ माघ ०७७ मा पशुपतिमा विशेष पूजा–आराधना गरेर सुनको जलहरी राख्ने प्रतिबद्धता जनाए । त्यसका लागि ३० करोड रुपैयाँ तत्कालै दिने र जलहरी निर्माणमा कुनै पनि कसर बाँकी नराख्न उनले निर्देशनसमेत दिए । उनको यही ठाडो निर्देशनलगत्तै कोषले दुई सय वर्षभन्दा पुरानो चाँदीको जलहरी हटाएर सुनको राख्ने प्रक्रिया अघि बढाएको थियो ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend