२६ जेष्ठ २०८०, शुक्रबार

संसद बैठकमै कसले लगायाे ओलीमाथि भ्रष्टाचारको आरोप ?

लेखाजोखा न्यूज

१२ जेष्ठ २०८०, शुक्रबार २:०८

काठमाडौं । पशुपतिनाथमा सुनको जलहरी भनेर पित्तलको जलहरी चढाइएको आरोप पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएपछि एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।

एमाले प्रमुख सचेतक पदम गिरीले प्रमुख प्रतिपक्षी दलका अध्यक्षमाथि लागेको आरोपबारे प्रष्ट निर्णय नभएसम्म बैठक चल्न नदिने बताएका छन् । शुक्रबार बैठकमा पशुपतिको गजुरमा रहेको जलहरी सुनको हो कि पित्तलको भनी संसदमा प्रश्न उठेको थियो ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अनेकन भ्रष्टाचार भएको बताउँदै भनेका थिए, ‘उहाँ (केपी शर्मा ओली) सरकारमा बस्दा कति भ्रष्टाचारका काण्डहरु आए ? यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामाग्रीको दुई अर्बको भ्रष्टाचार । त्यति मात्रै होइन, पशुपति नाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारका हजारौं काण्डहरु छन् ।’

यसपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएकाले बैठक प्रक्रियामा लैजान सहयोग मागेका थिए । तर, एमाले सांसदहरुले आधारहीन आरोप लगाउने सांसदमाथि कारबाही र संसदीय रेकर्डबाट नहटाएसम्म अवरोध कायमै राख्ने जनाएको हो ।

एमालेका उपनेता सुवास नेम्वाङले आधारहीन र गैरजिम्मेवार टिप्पणी नसच्याएसम्म बैठक चल्न नदिने बताए । सदन रोक्ने रहर नभएको बताउँदै उनले भने, ‘हामी प्रष्ट छौं, यति गम्भीर आरोप टाउकोमा बोकेर हामी कसरी भाग लिन सक्छौं ?’ उनले भ्रष्टाचार भएमा कारबाही गर्न सक्ने डाडूपन्यू लिएको सत्तारुढबाटै प्रमुख प्रतिपक्षमाथि आधारहीन गम्भीर आरोप लगाइएको बताए ।

नेता नेम्बाङले भने, ‘मैले तीनपटक सुनेँ । सुनको जलारीको नाममा पशुपतिनाथमा पित्तलको जलारी चढाएर भ्रष्टाचार गर्ने काम गरेको छ । पार्टीको नेतामाथि यस्तो आरोप लागेको छ ।’

एमाले नेताहरुले उभिएर संसद अवरोध गरिरहेकै बेला सभामुख घिमिरेले माओवादी केन्द्रका हितराज पाण्डेलाई बोल्ने समय दिएका थिए । पाण्डेले सार्वभौम संसदमा सबैले आ–आफ्नो कुरा राख्न पाइने बताए । उनले भने, ‘भ्रष्टाचार भइरहेको विषयलाई छानबिन गर्नुपर्ने हुन्छ’ उनले भने, ‘सरकारले आफ्नो कुरा राख्छ । आज प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ । उहाँले आफ्नो कुरा राख्नुहुन्छ ।’

तर, त्यसपछि एमालेका सांसदहरुले रोष्टममै गएर नाराबाजी गर्न थालेपछि सभामुख घिमिरेले बैठक स्थगित गनुर्परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend