काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणकाे मुद्दामा आजबाट काठमाडौं जिल्ला अदालतमा बयान लिन सुरु भएकाे छ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरूको बयान शुरू भएको हो ।
शुरूमा अभियुक्त सानु भण्डारीको बयान लिने तयारी थियो । तर, बिरामी भएको बताएपछि उनको बयान आज नहुने भएको छ । उनको ठाउँमा अर्का अभियुक्त सागर राईको बयान लिन थालिएको छ । त्यसपछि आजै केशव दुलालको बयान लिइने छ ।
जिल्ला अदालतका अनुसार आज दुई जनाको मात्रै बयान लिइने छ ।
दुई जनाको मात्रै बयान हुने भएपछि अन्य अभियुक्तलाई हिरासत फिर्ता लगिएको छ ।
बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध पाँच अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा १६ पक्राउ परेका छन् । १४ फरार छन् ।
सोही मुद्दामा शुक्रवारबाट न्यायाधीशसमक्ष बयान सुरु हुन लागेको हो । बयान र थुनछेक प्रयोजनका लागि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पेसी तोकिएको छ । गोला प्रकृयाबाट भएको पेसीमा न्यायाधीश न्यौपानेको इजलासमा उक्त मुद्दा परेको हो ।
बुधबार दर्ता भएको मुद्दामा आजदेखि पक्राउ परेका प्रतिवादीहरूको न्यायाधीशको अगाडि बयान हुनेछ । बयान सकिएपछि मात्र थुनछेकको बहस सुरु हुनेछ । थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।
सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौंमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्धा दर्ता गरेको छ।
राज्य बिरुद्धको अपराध, संगठित अपराध, किर्ते, ठगीलगायतका आरोप दर्ज गराएर मुद्धाा दर्ता गराएको पर्सिपल्ट अर्थात आज शुक्रवारबाट अदालतमा बयान लिन लागिएको हो ।
यसअघि सरकारी वकिलसमक्ष प्रहरीले पनि उक्त प्रतिवादीहरूको बयान लिइएको थियो । उक्त बयानको आधारमा सरकारी वकिलले अभियोगपत्र दायर गरेको हो ।