दाङ । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन आजबाट सुरू हुँदैछ ।
बैठकको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुखबाट अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने, प्रदेश प्रमुखको कार्यालयबाट ‘मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन’ सम्बन्धी प्राप्त पत्र सभामुखले सुनाउने रहेको छ ।
यसैगरी दलको तर्फबाट सांसदहरूले शुभकामना मन्तव्य राख्ने, मुख्यमन्त्री एवं उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री डिल्ली बहादुर चौधरीले ‘औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेश गर्ने, स्वास्थ्य मन्त्री राजु खनालले ‘स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गर्ने कार्यसूची छ ।
‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलको प्रस्ताव र छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले दिने कार्यसूची छ ।
लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ मा कटौती गरेर बजेट ल्याउने तयारी गरेकाे छ । चालू आवभन्दा २० प्रतिशत कम हुने गरी सिलिङ मन्त्रालयमा पठाइएको र सोहीअनुसार योजना छनोट हुने बताइएकाे छ।