काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी तीव्र भएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुने तय भइसकेको छ ।
दाहाल तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि हुन लागेको पहिलो विदेश भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू संलग्न छन्।
भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत डा शंकर शर्माबीच भेटवार्ता भएको छ । शर्माले आज विहान विदेशमन्त्री जयशंकरलाई भेटेका हुन् ।
बिहीबार बिहान भारतीय विदेशमन्त्रीकाे कार्यक्षमा विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माबीच भेटवार्ता भएको छ ।
भेटमा दुई देशबीचको गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् । आगामी दिनमा यसलाई थप विस्तार गर्न दुबै पक्ष सकारात्मक बनेका छन् ।
प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण ऐतिहासिक हुने दाबी गरिरहदा यसपटक नेपाल र भारतकाबीच के-के विषयमा सम्झौता तथा समझदारी हाेलान भन्ने विषयमा धैरैले चासो लिन थालेका छन्।
आसन्न भ्रमणलाई फलदायी बनाउने गरी भारतसमक्ष उठाइने कार्यसूचीका विषयमा पनि सबै मन्त्रालयका पदाधिकारीसँगको छलफल लगभग सकिएको छ। त्यसको नेतृत्व परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले गरेका छन्।
उनले अर्थ, गृह, ऊर्जा, भौतिक पूर्वाधार, पर्यटनलगायतका दुई पक्षीय परियोजनामा सम्बद्ध मन्त्रालयबाट आवश्यक कार्यसूचीको खाका गतसाता नै सङ्कलन गरेका छन् ।
प्रधानमन्त्रीको आसन्न भ्रमणको तयारी अन्तिम चरणमा रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। उनका अनुसार तयारीका क्रममा दुई देशबिचको एजेन्डालाई अन्तिम रूप दिने कार्य, भ्रमण टोलीमा सहभागी हुनेको नामावली तय गर्ने कार्यमा अन्तिम छलफल चलिरहेको छ।
भ्रमणको मिति तोक्ने सवालमा दुवै देशले एकै दिन एकै समयमा सार्वजनिक गर्ने नीति अनुसार शनिबार घोषणा गर्ने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयको दक्षिण एसिया महाशाखाका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भ्रमणको कार्यसूचीमा दुई देशीय सम्बन्धमा महत्व राख्ने द्विपक्षीय तथा बहुपक्षीय साझेदारी र बहुआयामिक विषय रहेका छन् ।
कार्यसूचीलाई अन्तिम रूप दिन परराष्ट्र मन्त्रालयमा बिहीबार सार्वजनिक बिदाको दिन पनि गहन गृहकार्यमा कर्मचारी खटिएको मन्त्रालयले जनाएको छ । सबै सरोकारवाला मन्त्रालयले दिएको कार्यसूचीलाई प्राथमिकीकरण गरेर कार्यसूची व्यवस्थित गरेपछि मन्त्रालयले औपचारिक जानकारी दिने सुवेदीले बताए ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा ऊर्जासम्बन्धी विषयलाई महत्व दिइने बताइएकाे छ । नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १० औँ बैठकले पारित गरेका मुख्य विषयले प्रधानमन्त्रीको भ्रमणमा स्थान पाउने छन्।
सो बैठकमा दुई देशबिचका मौजुदा प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तर्देशीय प्रसारण लाइन, अरुण–३ जलविद्युत् तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तर्देशीय विद्युत् आयात–निर्यातलगायतका विषयमा सहमति भएको थियो।
त्यसमध्ये नेपालबाट ५० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने सम्बन्धमा निश्चित आयोजनासहित नेपालले प्रस्ताव पेस गरेमा भारतको विद्युत् आयात–निर्यात निर्देशकाबमोजिम भारतीय पक्ष स्वीकृति दिन सकारात्मक रहेको थियो।