कुम्भ मेलामा सहभागी दुई हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

लेखाजोखा न्युज
२ बैशाख २०७८, बिहीबार १५:३४

नयाँ दिल्ली । भारतको हरिद्वारामा जारी कुम्भ मेलामा सहभागी दुई हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दैनिक कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा पनि मेला भने जारी नै राखिएको छ ।

हरिद्वार जिल्लाका मजिस्ट्रेट तथा मेलाका अधिकारी दिपक रावतले मेला रोक्‍ने विषयमा आफूलाई कुनै जानकारी नआएको बताएका छन् । जनवरीमा सुरु हुने भनिए पनि कोरोना महामारीका कारण मेला अप्रिलदेखि सुरु गरिएको थियो । उनले यसको केही समय घटाउन सकिने बताएका छन् ।

प्रहरीको तथ्यांक अनुसार बुधबारसम्म १३ लाख ५१ हजार ६३१ जनाले मेला अवलोकन गरेका छन् । बुधबार एकैदिन हरिद्वारको मेलामा सहभागी ५२५ कोरोना संक्रमित फेला परेका थिए भने दुईजनाको मृत्यु भएको छ ।

हरिद्वारमा हालसम्म तीन हजार सक्रिय संक्रमित रहेका छन् । पछिल्लो पाँच दिनमा मात्रै हरिद्वारमा दुई हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार भारतमा २४ घण्टामा दुई लाखभन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका थिए ।