अविश्‍वासको प्रस्ताव छल्‍न गण्डकी प्रदेशसभा अधिवेशन नै अन्त्य

लेखाजोखा न्युज
२ बैशाख २०७८, बिहीबार ११:२१

काठमाडौं । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेशमा सभामा बिहीबार नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अविश्‍वासको प्रस्ताव ल्याउने तयारी गरेका थिए ।

तर, उक्त अविश्‍वासको प्रस्ताव छल्नका लागि दर्ता हुनुअघि नै अधिवेशन अन्त्य गरिएको हो । बुधबार दिउँसो कांग्रेस र माओवादीबीच प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्‍वासको प्रस्ताव ल्याउने सहमति गरेपछि बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो ।

मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका थिए ।

प्रदेश प्रमुख अमिक शेरचनले ०७८ साल वैशाख ०१ गते राति ११ बजेदेखि लागु हुने गरि गण्डकी प्रदेशको हिउँदे अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

मंगलबार राति कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गण्डकी प्रदेशमा मुख्यमन्त्री कांग्रेसलाई दिने गरि सत्ता परिवर्तन गर्ने सहमति भएको बताइएको थियो ।