कांग्रेसको नेतृत्वमा मुख्यमन्त्री सुब्बाविरुद्ध अविश्‍वासको प्रस्ताव ल्याउन माओवादी सहमत

लेखाजोखा न्युज
१ बैशाख २०७८, बुधबार १७:१३

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई अविश्‍वासको प्रस्तावबाट हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।

लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वमा सरकार बनाउन सघाउन कांग्रेस तयार भएपछि नयाँ समीकरण बनेको हो । २०७४ मंसिरमा चुनाव भएर बनेका प्रदेश सरकारमध्ये सबैभन्दा पहिले गण्डकी प्रदेश सरकार फेरबदल गर्ने विषयमा कांग्रेस र माओवादीबीच सहमति भएको जनाइएको छ ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारीमा रहेका दुई पार्टीले मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भएको जनाइएको छ । दुबै पार्टीनिकट स्रोतका अनुसार मंगलबार र बुधबार भएको दुबै पार्टीको शीर्ष नेताहरुको बैठकले गण्डकी प्रदेशमा कांग्रेसको मुख्यमन्त्री बनाउने र लुम्बिनी प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रबाट बनाउने समझदारी गरेका छन् ।

दलभित्र सहमति जुटिसकेकोले गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध केहीदिनमै अविश्वासको प्रस्ताव पनि पेस हुने कांग्रेस प्रदेश सभा सदस्य विष्णु लामिछानेले जानकारी दिएका छन् ।

उनले भने, “गण्डकी प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बनाउन समझदारी जुटेको छ । बिहीबार बस्ने दलको बैठकले यसबारे थप निर्णय गरेर अघि बढ्छ ।”

प्रदेश सांसदहरुका अनुसार भोलि नै अविश्वासको प्रस्ताव पेस गर्नेगरी तयारी भएको छ । माओवादी केन्द्रबाट हरिबहादुर चुमान (अजित) र दीपक कोइराला तथा कांग्रेसबाट कृष्णचन्द्र नेपाली पोख्रेलले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

तर, मंगलबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा कांग्रेसलाई मुख्यमन्त्री बनाउने समझदारी बनेको माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज देबेन्द्र पौडेलले बताए ।