वर्ष २०७७ निरर्थक वर्ष रहेन, उपलब्धिको वर्ष रह्‍यो : प्रधानमन्त्री

लेखाजोखा न्युज
१ बैशाख २०७८, बुधबार ०८:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०७७ निरर्थक नरहेको, उपलब्धिमुलक वर्ष भएको बताएका छन् ।

नयाँ वर्षको अवसरमा बुधबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “कोभिड महामारी भए पनि, केही राजनीतिक अस्वस्थता देखा परे पनि वर्ष २०७७ पनि निरर्थक वर्ष रहेन, उपलब्धीको वर्ष रह्यो । चिरपरिक्षित मेलम्चीको पानी काठमाडौंका धाराधारमा पुर्‍याएर सफल भएका छौं । अनेका कामहरु पूरा गरेका छौं ।

प्रतिकुल परिस्थितिका बीचमा पनि २०७७ लाई निर्थक हुन नदिएको उनले दाबी गरेका छन् । उनले भने, “कोभिड महामारीका बीच शिक्षालयहरु बन्द भए पनि अनलाइन कक्षाहरु सुरु गर्‍यौं । मुलुकलाई सामान्य अवस्थामा फर्काउने काम भयो । फेरि ०७७ सालको पीडा त्यही रुपमा दोहोरिन नपाओस् भनेर हामीले सुरक्षाका मापदण्डहरु पालना गर्नुपर्छ ।”

कोभिड-१९ कसैका लागि चिनिएको विषय नभएको उल्लेख गर्दै उनले भने, “केही अनुभव र धेरै अनुमानका आधारमा चल्‍नुपर्थ्यो । त्यसका बाबजुद हामीले नागरिकको जीवन रक्षा गर्नु पहिलो कर्तव्य भएकोले हामी जनताको जीवन बचाउन लागिपर्‍यौं । मानिसको जीवन बचाउन सकियो भने शिक्षालय चल्‍नेछन्, उद्योग कलकारखाना चल्‍नेछन् भनेर लकडाउन गरेका हौं । लकडाउनले जीवन जोगाउन ठूलो भूमिका खेल्‍यो ।”