२६ जेष्ठ २०८०, शुक्रबार

टेलिकमले घटायो भारत र थाइल्याण्डको रोमिङ शुल्क

लेखाजोखा न्यूज

२ जेष्ठ २०८०, मंगलबार ४:३२

काठमाडाैं । नेपाल टेलिकमले भारत र थाइल्याण्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल घटाएको छ । टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर घटाएको हो ।

टेलिकमका अनुसार घटेको मूल्य आईटीयू डे २०२३ को अवसरमा जेठ ३ गतेदेखि लागू हुनेछ ।

टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिलेभन्दा धेरै नै कम महसुल दरमा रोमिङ सेवा प्रयोग गर्न सक्ने छन् ।

नयाँ दरअनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट रु. ७ मात्र शुल्क लाग्ने छ ।

त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट रु. ७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस रु. ७ नै लाग्ने छ ।

हाल भारतको कुनै नम्बरमा कल गर्दा रु. ३०, अन्य नम्बरबाट आएको कल उठाउँदा रु. १४ र एसएमएस गर्दा रु. २४ लाग्ने व्यवस्था छ ।

त्यसैगरी थाइल्याण्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्याण्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट रु. ५० मात्र लाग्ने छ । त्यसैगरी आएको कल उठाउँदा प्रति मिनेट रु. २५ र एसएमएस गर्दा प्रति एसएमएस रु. १० लाग्ने छ ।

हाल कुनै नम्बरमा कल गर्दा रु. १३५ र अन्य नम्बरबाट आएको कल उठाउँदा रु. ९० लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस रु. ३४ लाग्छ ।

त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी रु. ४० शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यसअनुसार प्रति एमबी करिव रु. ५ मात्र लाग्ने छ ।

अन्य देशमा जाँदा/रहँदासमेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो ।

यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend