कोरोनाको दोस्रो लहर सुरु भएसँगै प्रधानमन्त्रीले फेरि भने – बेसार-पानी खानुहोला

लेखाजोखा न्युज
२६ चैत्र २०७७, बिहीबार १५:२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । काठमाडाैंमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री अ‍ाेलीले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्ने बताए ।

उनले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे । “हाम्रो जनजीवनलाई ठप्प पनि नगर्ने । सावधान भएनौं भने ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ। बेसार-पानी खानुस्,” उनले भने ।प्रधानमन्त्री अोली कोरोना संक्रमणको पहिलो लहर चलिरहँदा पनि बेसार पानी खाँदा कोरोना निर्मुल हुने बताएका थिए ।

उनले कोभिड-१९ ले अन्य मूलुकमा जस्तो नेपालमा धक्का नपरेको दाबी पनि गरे ।

अर्काे प्रसंगमा उनले नेतृत्व सत्यको मार्ग, देश र जनताको स्वार्थको मार्ग र इमान भएमा मात्रै देश बन्ने बताए ।