प्रधानमन्त्रीलाई संसदबाट नभाग्न गगन थापाको चेतावनी

लेखाजोखा न्युज
२६ चैत्र २०७७, बिहीबार १५:०६

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रस्तुत गरेको तथ्यमा टेकेर आफू बहस गर्न तयार रहेको बताएका हुन्।

बिहीबार प्रतिनिधि बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्री ओलीलाई संसदमा आएर तथ्य र तथ्यांकमा टेकेर बहस गर्न चेतावनी दिएका हुन् ।

सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो ।

उनले प्रधानमन्त्री ओलीले सभा सम्मेलनमा हुक्के चिलिमे राखेर माथिबाट बोल्ने र तलबाट ताली ठोक्ने काम भएको समेत आरोप लगाए ।

“यो नेपाल सरकारले लेखेको पुस्तक हो । यो पुस्तकमा टेकेर बहस गर्न तयार छु । प्रधानमन्त्रीज्यू तथ्य र तथ्यांकमा टेकेर बहस गर्नका निम्ति म तपाईलाई संसदमा निम्तो दिन चाहन्छु, चुनौती दिन चाहन्छु,” थापाले सरकारले प्रस्तुत गरेको तथ्यांकको पुस्तक देखाउँदै भने, “तपाईं बाहिरका सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के, चिलिमे, बैठके चौतारे राखेर माथिबाट बोल्ने र तलाबाट ताली बजाउने अनि तपाईंका सांसद संसद्मा आएर बाल कविता वाचन गर्ने?”

उनले प्रधानमन्त्री ओलीलाई संसदमा छलेर नभाग्न समेत चुनौती दिए ।