राजनीतिक क्रान्तिले मुलुकमा पूर्वाधार तयार गर्‍यो, आर्थिक क्रान्तिले समृद्ध बन्छ : नेता साउद

लेखाजोखा न्युज
२६ चैत्र २०७७, बिहीबार १३:१४

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले मुलुकमा नेपाली कांग्रेस अनुमोदन भएर आएपछि मात्रै प्रजातन्त्र बलियो हुने बताएका छन् ।

वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै नेता साउदले भने, “यसअघि पनि नेपाली कांग्रेस पटक-पटक सत्तामा गएको छ । धेरै पटक धेरै राम्रा कामहरु गरेका छन् । राजनीतिक समृद्धि र प्रजातन्त्रको सुदृढिकरणका लागि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको छ ।”

कांग्रेस सत्तामा रहँदा केही कामहरु गर्न नसकेको स्वीकार गर्दै नेता साउदले जब सम्म राष्ट्रिय एजेण्डा र राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति हुनसक्दैन तबसम्म मुलुकमा स्थिरता कायम हुननसक्ने पनि संकेत गरेका छन् ।

उनले मुलुकको समृद्धिका लागि आर्थिक क्रान्ति हुनपर्ने बताएका छन् ।

नेता साउदले भने, “नेपाली कांग्रेसले सत्ता सञ्‍चालन गर्नसक्यो भने मात्रै मुलुक समृद्धिको बाटोतर्फ जान्छ । हामीले गरेको राजनीतिक क्रान्तिले मुलुकको राजनीतिक पूर्वाधार र संरचना तयार गरेको छ । अब मुलुकको समृद्धिका लागि आर्थिक क्रान्तिक गर्नुपर्छ ।”

वीर गणेशमानले राखेका विचारहरुलाई स्मरण गर्दै नेता साउदले भने, “वीर गणेशमानले जीवनको अन्तिम समयमा राखेका विचारहरु आज निकै सान्दर्भिक भएका छन् । आज नेपाली कांग्रेसका सबै साथीहरुले यस कुरालाई प्रेरणा लिनुपर्ने आवश्यकता मैले देखेको छु ।”