पत्रकार महासंघको पछिल्लो मतपरिणाम : कुन प्रदेशमा कसको अग्रता ?

लेखाजोखा न्युज
२६ चैत्र २०७७, बिहीबार १२:४९

काठमाडौं । नेपाल पत्रकार महासंघको बुधबार सम्पन्‍न निर्वाचनको मतगणना जारी छ । पहिलोपटक प्रत्यक्ष निर्वाचन भएकाले जिल्ला तथा शाखाहरुमै मतगणना भइरहेको छ । विभिन्‍न जिल्लाबाट प्राप्त मतपरिणाम अनुसार अध्यक्षमा प्रेस युनियन नेतृत्वको गठबन्धनका उम्मेदवार विपुल पोख्रेल र प्रेस चौतारीकी निर्मला शर्माबीच प्रतिस्पर्धा छ ।

अधिकांश जिल्लाको मतगणना सकिँदा पोख्रेल नेतृत्वको प्यानल विजयी भएको छ । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ५ जिल्लामा मतगणना सकिएको छ । गणना सकिएकामध्ये प्रेस युनियन नेतृत्वको गठबन्धले तीन र निर्मला शर्मा गठबन्धनले दुई जिल्लामा जित निकालेको छ ।

नेपाल पत्रकार महासंघ दार्चुलाको अध्यक्षमा निर्मला शर्मा नेतृत्वको प्रेस चौतारी समूह सबै पदमा विजयी भएको छ भने अछामको अध्यक्षमा प्रेस युनियनका खम्मसिंह खत्री विजयी भएका छन् । महासंघ डडेल्धुराका अध्यक्षमा युनियनका बरुण पनेरुलाई हराउँदै हिक्मत सिंह विजयी भएका छन् भने डोटीको अध्यक्षमा युनियनका मोहन शाही निर्वाचित भएका छन् ।

बझाङको अध्यक्षमा युनियनकै शैलेन्द्र रोकाया विजयी भएका छन् भने पत्रकार महासंघ बाजुरा शाखामा प्रेस युनियन नेतृत्वको गठबन्धनले जित हात पारेको छ । बाजुरामा प्रेस युनियनका उम्मेदवार बनेका छक्कबहादुर मल्ल विजयी भएका छन् ।

नेपाल पत्रकार महासंघको चुनावमा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा एमालेनिकट प्रेस चौतारीले हार बेहोरेको छ । महासंघ झापाको अध्यक्षमा एकराज गिरी विजयी भएका छन् भने अधिकांश पदमा उनकै प्यानल विजयी भएको हो ।

सुर्खेतमा युनियनका ललित बसेल र ललितपुरमा युनियन गठबन्धनका सागर न्यौपाने विजयी भएका छन् । चीतवन र कास्कीमा पनि युनियनका क्रमश: नारायण अधिकारी र विमला अधिकारी निर्वाचित भएका छन् ।

जिल्ला शाखाका मतगणना सकिएका जिल्लामा प्रदेश र केन्द्रको मतगणना भइरहेको छ ।

केन्द्रमा विपुल पोखरेल प्यानलको अग्रता देखिएको छ । ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, रामेछाप, दोलखा, ललितपुर, मकवानपुर, नुवाकोटलगायत जिल्लामा अग्रता लिइरहेको छ। लुम्बिनी र सुदूरपश्चिमका जिल्लामा पोखरेलको प्यानल अगाडि देखिएको छ ।

उता एमालेकै ओलीनिकट प्रेस चौतारीबाट चुनावी मैदानमा रहेको निर्मला शर्मा नेतृत्वको प्यानल केही जिल्लामा मात्र अगाडि भइरहेको छ । यो प्यानलले भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुलीलगायत जिल्लामा अग्रता लिइरहेको हो ।

स्वतन्त्रबाट अध्यक्षमा उठेका गजेन्द्र बुढाथोकीले भने अहिलेसम्म कम मात्र मत प्राप्त गरेका छन् ।

प्रदेश १

धनकुटामा मतगणना सकिएको छ। जहाँ विपुल पोखरेलले ८३, निर्मला शर्माले ३३ र गजेन्द्र बुढाथोकीले ३ मत प्राप्त गरेका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलका रमेश विष्टले ८२ र शर्मा प्यानलका माधव नेपालले ३३ मत ल्याएका छन् ।

महासचिवमा रोशन पुरीले ७६, बाकलकृष्ण बस्नेतले ३३ र सुबोध गौतमले ६ मत प्राप्त गरेका छन् । धनकुटामा पोखरेल प्यानलका सबै उम्मेदवार अगाडि देखिएका छन् । उदयपुरमा सम्पन्न मतगणनाअनुसार विपुल पोखरेलले ४४, निर्मला शर्माले ३८ र गजेन्द्र बुढाथोकीले १० मत प्राप्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ५६ र माधव नेपालले २२ मत पाएका छन्। महासचिवमा रोशन पुरीले ४८, बालकृष्ण बस्नेतले ३५ र सुबोध गौतमले ४ मत पाएका छन् । सोलुखम्बुमा पनि मतगणना सकिएको छ। जहाँ अध्यक्षका उम्मेदवार विपुल पोखरेलले ३२ र निर्मला शर्माले २५ मत पाएका छन्। ओखलढुंगामा पोखरेलले १८ मत ल्याउँदा शर्माले २५ मत प्राप्त गरेकी छन्। भोजुपुरमा पोखरेलले १९ र शर्माले २० मत पाएका छन ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा पोखरेल प्यानल अगाडि छ। उसले जिल्ला, प्रदेश र केन्द्र तीनै तहमा अग्रता लिएको छ । गुल्मीमा केन्द्रीय अध्यक्षका उम्मेदवार विपुल पोखरेलले ३९ र निर्मला शर्माले १९ मत पाएका छन्। यस्तै पाल्पामा पोखरेलले ४१ र शर्माले ४७ मत प्राप्त गरेका छन् ।

रोल्पामा पोखरेलले ४६ र शर्माले २८ मत ल्याएका छन्। प्रदेश अध्यक्षका उम्मेदवार बसन्त गिरीले ४७ र भरत केसीले २६ मत पाएका छन् ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका जिल्लाको मत गणना सकिएको छ। बझाङ, डोटी, डडेल्धुरा र दार्चुलामा गरी पोख्रेलले २०६ तथा शर्माले ११८ मत पाएकी छन् । बैतडी, बाजुरा र अछामको अन्तिम मत गणना अन्तिम चरणमा पुगेको छ भने कैलाली र कञ्चनपुरमा मत गणना सुरु हुँदै छ ।

यसपालि पत्रकार महासंघको निर्वाचन पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको हो। बुधबार सम्पन्न मतदानमा देशभरका १३ हजारभन्दा बढी पत्रकारले जिल्लादेखि केन्द्रसम्मका उम्मेदवारलाई मतदान गरेका हुन् ।

महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाएका हुन् । यसअघि केन्द्रका पदाधिकारीलाई जिल्लाबाट छानिएर आएका पार्षद (प्रतिनिधि) ले मात्र मतदान गर्न पाउँथे ।