धादिङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

लेखाजोखा न्युज
२६ चैत्र २०७७, बिहीबार १२:३८

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नम्बर ३ स्थित बैरेनीमा सवारी दुर्घटना हुँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गल्छी गाउँपालिका वडा नम्बर ३ का ६५ वर्षीय वुद्धिबहादुर उपरकोटी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

बुधबार बा १९ च ३६०९ नम्बरको जीपले पैदल हिडिरहेका उपरकोटीलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने गाडीको खोजी गरि चालकलाई कारबाहीको माग गर्दै स्थानीयहरुले केही समय पृथ्वी राजमार्ग बन्द समेत गराएका थिए । ठक्कर दिने गाडी र गाड़ी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरिक्षक युवराज खड़काले जानकारी दिए ।

यस्तै बुधबार धादिङको खनियावास गाउँपालिका वडा नम्बर २ डुन्डुरेमा तुफान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार धादिङबेशीबाट रुविभ्यालीतर्फ जाँदै गरेको ग १ ज ६२७० नम्बरको बोलेरो अनियन्त्रित भइ सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुविभ्याली गाउँपालिका वडा नम्बर ५ लापा घर भएका १४ वर्षिय अनिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।