भारतमा एकैदिन एक लाख २६ हजार कोरोना संक्रमित थपिए

लेखाजोखा न्युज
२६ चैत्र २०७७, बिहीबार ०८:५८

नयाँ दिल्ली । भारतमा कोरोना महामारी भयावह बनेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना महामारी सुरु भएयताकै उच्च संख्यामा एक दिनमा संक्रमित थपिएका हुन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार त्यहाँ १ लाख २६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दोस्रो लहरमा २४ घण्टाभित्र यति धेरै संख्यामा पहिलो लहरमा संक्रमित थपिएका थिएनन् ।

एक दिनमा संक्रमित थपिएको यो संख्या संसारमै सबैभन्दा बढी हो । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ६८४ जना कोरोना संक्रमितको मत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको छ ।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा ५९ हजार ९०७ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ३२२ जनाको मृत्यु भएको छ । खुला सीमा भएका कारण भारतमा तीव्र बनेको कोरोना संक्रमणको जोखिममा स्वाभाविक रूपमा नेपाल पनि परेको छ ।

नयाँ वर्ष नजिकिएसँगै भारतका विभिन्‍न ठाउँबाट नेपाल आउनेहरुको संख्यामा पनि दैनिक वृद्धि भइरहेको छ ।