एएफसी कप : श्रीलंका पुलिसमाथि आर्मीको शानदार जित

लेखाजोखा न्युज
२५ चैत्र २०७७, बुधबार २०:१८

काठमाडौं । एएफसी कप–२०२१ प्ले अफमा नेपालको त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिस स्पोर्टस क्लबलाई पराजित गरेको छ । घरेलु मैदानमा श्रीलंका पुलिसलाई आर्मीले ५–१ को पराकिलो अन्तरले पराजित गरेको हो ।

जितसँगै आर्मी एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । आर्मीको जितमा नवयुग श्रेष्ठले २ गोल गरे । यस्तै सन्तोष तामाङ, टंक बहादुर बस्नेत, सुदिल राईले एक एक गोल गरे । श्रीलंका पुलिसका इभान्सले एक गोल फर्काएका थिए ।

अब आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल बैशाख १ मा हुनेछ । भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।