९ बजेपछि रात्रीकालिन व्यवसाय सञ्चालन गर्न नपाइने, अटेरी गरे कारबाही

लेखाजोखा न्युज
२५ चैत्र २०७७, बुधबार १९:४७

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । कोरोनाभाइरसको  बढ्दो संक्रमण दरलाई ध्यानमा राखेर सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरुमाथि कडाइ गर्ने भएको छ ।

सूचना प्रकाशित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्डको बढ्दो उल्लंघन तथा कोरोनाको बेलायत भेरियन्टको बढ्दो संख्यालाई ध्यानमा राखेर बढी भिडभाड हुने स्थानमा कडाइ गर्न आग्रह गरेको हो । मन्त्रालयले रात्रीकालिन व्यवसाय राति नौ बजेपछि पूर्णरुपमा बन्द गर्न आग्रह गरेको छ ।

यस्तै, बढी भिडभाड हुने शैक्षिक संस्था, यातायात, मन्दिर, सिनेमाघर, पार्टी प्यालेसलगायतका स्थानमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार सूचना जारी गर्दै राति ९ बजेपछि रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु सञ्चालन नगर्न आग्रह गरेका छन् ।

सरकारले लागु गरेको मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐनबमोजिम कारबाही गर्ने बताएको छ । मन्त्रालयले घरबाहिर र सार्वजनिक स्थानमा मास्क प्रयोगलाई अनिवार्य गराउन पनि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

यसैगरी कन्ट्याक्ट ट्रेसिङ, एन्टीजेन तथा पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ। ठूला शहरहरुमा ५ सयभन्दा बढी र साना शहरहरुमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिए ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।