कसलाई लगाइँदै छ चीनबाट ल्याइएको कोरोनाविरुद्धको खोप

लेखाजोखा न्युज
२५ चैत्र २०७७, बुधबार ०७:३८

काठमाडौं । नेपाल सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको कोरोनाविरुद्धको भेरोसेल खोप बुधबारदेखि लगाइँदै छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो ।

काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

चिनियाँ खोप कम्पनी सिनोफार्म बेइजिङ इन्स्टिच्युटले उत्पादन गरेको खोपको ८ लाख डोज गत १६ चैतमा नेपाल ल्याइएकोे थियो ।

चीन भ्रमणमा जानेहरु, अध्ययनका लागि जाने विद्यार्थी, व्यापार व्यवसाय गर्न जानेलाई प्राथमिकतामा राखिने भएको छ ।

नेपालले कोरोनाविरुद्धको खोप अभियानमा अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड प्रयोग गरिरहेको छ । पहिलो र दोस्रो चरणमा गरी हालसम्म १७ लाखले यो खोप लगाइसकेका छन् ।