कोरोना विरुद्धकोको चिनियाँ खोप भोलिदेखि लगाइँदै

लेखाजोखा न्युज
२४ चैत्र २०७७, मंगलवार १९:३३

काठमाडौं । नेपाल सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको कोरोनाविरुद्धको भेरोसेल खोप भोलि (बुधबार ) देखि लगाइने भएको छ ।

मन्त्रालयले जनाए अनुसार उक्त खोप ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई मात्र लगाइने छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो । काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

चिनियाँ खोप कम्पनी सिनोफार्म बेइजिङ इन्स्टिच्युटले उत्पादन गरेको खोपको ८ लाख डोज गत १६ चैतमा नेपाल ल्याइएकोे थियो । चीन भ्रमणमा जानेहरु, अध्ययनका लागि जाने विद्यार्थी, व्यापार व्यवसाय गर्न जानेलाई प्राथमिकतामा राखिने भएको छ ।

नेपालले कोरोनाविरुद्धको खोप अभियानमा अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड प्रयोग गरिरहेको छ । पहिलो र दोस्रो चरणमा गरी हालसम्म १७ लाखले यो खोप लगाइसकेका छन् ।