रुसी राष्ट्रपति पुटिनलाई संवैधानिक शक्ति, सन् २०३६ सम्म राष्ट्रपति बन्न पाउने

लेखाजोखा न्युज
२४ चैत्र २०७७, मंगलवार ०७:२०

रूसी  राष्ट्रपति भ्लादिमीर पुटिनले संवैधानिक शक्ति हासिल गरेका छन्। साेमबार एक विधेयकमा हस्ताक्षर गरेसँगै पुटिन अब सन् २०३६ सम्म रहन सक्ने संवैधानिक अधिकार दिइएकाे छ।

बिबिसीका अनुसार याे विधेयकमा हस्ताक्षरसँगै पुटिनलाई थप दुई कार्यकाल राष्ट्रपति बन्न पाउने अनुमति दिइएकाे हाे।   पुटिन रूसी तानाशाह जोसेफ स्टालिनभन्दा पनि लामाे समयसम्म सत्तामा रहहने नेता बन्ने सम्भावना रहेकाे छ।

करीब दुई दशक सत्तामा आसीन पुटिनले वर्तमान कार्यकालकाे ६ वर्ष पूरा भएपछि फेरि सत्तामा रहन्छन् वा रहँदैनन् उनले निर्णय भने गरिसकेका छैनन्।

गत वर्ष नै रूसमा संविधान संशोधनका लागि जनमत संग्रह गरिएकाे थियाे। यसमा पुटिन सफल भएका थिए। त्यसपछि संसदले नयाँ विधेयक अगाडि बढाउन अनुमति दिएकाे थियाे।

पुटिन सन् २००० मा पहिलाे पटक रुसी राष्ट्रपति बनेका थिए। उनले दुई पटक चार-चार वर्षकाे कार्यकाल पूरा गरे। त्यसपछि सहयोगी दिमित्रि मेदेवदेव २००८  मा राष्ट्रपति बने। २०१२ मा  पुटिन फेरि सत्तामा फर्किए २०१८ मा उनले जित हासिल गरे।